प्रदेश प्रमुख देवकोटालाई उद्बुद्ध माविको सम्मान

अखबार हब
२०८१ मंसिर १६, आईतवार ०७:५१

हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई  पाल्पा जिल्लाको पुर्वखोला गाउँपालिका ३  स्थित उद्बुद्ध   माविले सम्मान गरेको छ ।

बाल्यकालमा सोही बिद्यालय पढ्नु भएका उहाँलाई बागमतीको प्रदेश प्रमुख हुनुभएपछी सम्मान गरिएको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम बहादुर थापाले बताउनु भयो ।

विद्यालयको ७४ औं बार्षिकोत्सव समारोहमा शनिबार  प्रमुख अतिथिको रुपमा सहभागी प्रदेश प्रमुख देवकोटाले आफू जन्मेको हुर्केको माटोमा पुग्दा बाल्यकालको स्मृति ताजा भएको बताउनु भयो । “पाल्पा जिल्लाको शैक्षिक जगतको धरोहर उद्बुद्व माविले नै मलाई आजको स्थानमा पुर्‍याउन भुमिका खेलेको हो” प्रदेश प्रमुख देवकोटाले भन्नुभयो “एक दिन एक जुगमा एकपटक मात्र आउँछ भनेझैं आजको यो सद्भाव मेरो जीवनको उत्कृष्ट क्षणभित्र पर्दछ ।”

पाल्पाको जिल्लाको साबिक देविनगर २ हाल पुर्वखोला वार्ड नं ४ लेम्धेममा जन्मनु भएका देवकोटा प्रारम्भिक शिक्षा हासिल गर्दै यहाँको पाखा बारीमा हुर्कदै शुरुमा बेसर्घा र लेम्धेममा रहेको रम्भादेवी प्रा.वि शिक्षण पेशामा समेत हुनुहुन्थ्यो ।

“मान्छे भौतिक रूपमा कहाँ छ भन्नुभन्दा उसको आत्मामा के कुराले जरो गाडेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ” प्रमुख देवकोटाले भन्नुभयो “मलाई  जन्म, सुससंस्कार , गृहस्थ र जागीरे जीवनमा प्रवेश गराउने पाल्पाको माटो मेरो लागि यो धर्तीका मूल्यवान धातु सुन र हीराभन्दा कमी छैन ।”

आफू भौतिक रूपले पाल्पाको माटो भन्दा टाढा रहे पनि शरीरको रक्त नलीहरूमा पाल्पाको मीठो सम्झनाको तिनाउ र कालीगण्डकी बगेको उहाँले बताउनु भयो । “मेरा पितामाता, पूर्खा, नातेदार, छिमेकी, गुरूबर्ग, साथीसङ्गीलगायत सम्पूर्णमा नमन गर्दछु” उहाँले भन्नुभयो “म हुर्केको मगर समूदाय र दौँतरीहरूलाई बिर्सेको छैन र बिर्सिन पनि सक्दिन ।”

उद्बुद्व माविका विद्यार्थीहरूलाई बिद्यालय उमेरमा नै धेरै भन्दाधेरै मेहनत गर्न उहाँले प्रेरित गर्नुभयो । “तपाइँहरू जीवनको उर्जाशील उमेरमा हुनुहुन्छ, मेहनतभन्दा अर्को बिकल्प छैन, संसार मेहनतीहरूको हो” प्रमुख देवकोटाले भन्नुभयो “तपाईहरूसङ्ग सपना हुनुपर्छ ,जुन सपनाले तपाईको निन्द्रा हराओस्, यति पढ्नुस् कि अभिभावकले अब त सुत भो नानी बाबू भन्नुपरोस् ।”

उहाँले विद्यार्थीहरूलाई जहाँ भएपनी संस्कारी बन्न आग्रह गर्दै भन्नुभयो ” संस्कार बिनाको शिक्षा बिँडबिनाको खुर्पाजस्तै हुन्छ, हरेक आमाबाबुले आफ्नोभन्दा सुखद जीवन छोराछोरीको होस् भन्ने चाहन्छन्, अभिभाबकको सपना तुहाउने छुट तपाइँ बिद्यार्थीलाई छैन ।”
“मेहनत गर्दागर्दै कहिलेकाही असफल हुनु नौलो होइन तर मेहनत नगरी सफलता खोज्नु धान रोपेर मकै फल्छ भन्ने सोच्नुजस्तै हो” उहाँले भन्नुभयो ।

शिक्षक अभिभावकलाई पनि सुझाव

प्रदेश प्रमुख देवकोटाले पाल्पाली अभिभावकलाई पनि सुझाव दिन भ्याउनु भयो । घर बालबालिकाको पहिलो पाठशाला भएको उल्लेख गर्नुहुदै उहाँले भन्नुभयो “अहिलेका नानीबाबुहरू भिन्न समयमा जन्मेका छन्, हाम्रा थुप्रै अनुभबहरू उनीहरूलाई अर्थ नलाग्लान् । जे भए पनि संस्कार र श्रमको मूल्य नानुबाबुलाई बुझाउनुपर्छ ।”

बिद्यालयका प्रधानाध्यापक , शिक्षकवर्ग ,ब्यवस्थापन समिती, समाज अब्बल दर्जाको पाएँ, यो बिद्यालयले किताबी ज्ञानलाई मात्र जोड नदिएर कला, संस्कृती, कौशल, श्रमको सम्मान तथा नानीबाबुको सर्बाङ्गीण विकासमा जोड दिएको छ जुन अति प्रशंसनीय भएको उहाँले बताउनु भयो ।

“संसारका हरेक पत्थरहरू मूर्ति बन्न लायक छन् तर ती पत्थरहरू असल कालिगढको हातमा पर्नुपर्छ” उहांले शिक्षक तथा विव्यास प्रती लक्ष्यित गर्दै भन्नुभयो ” तपाईं सम्पुर्ण समुदायलाई आफ्नो कालिगढी सिपमा अझै पोख्त हुने हौसला दिदै , नानीबाबुहरूबाट अझै मिहिनेतको अपेक्षा राख्दै अघि बढाउनुहोस ।”

वि.स २००७ सालमा स्थापित यो विद्यार्थीमा हाल ५५३ जना विद्यार्थीहरू अध्ययनरत छन् भने ४७ जना शिक्षक कर्मचारी रहेको बिद्यालयका कम्प्युटर शिक्षक शंकर न्यौपानेले जानकारी दिनुभयो ।
बार्षिक कार्यक्रममा बिद्यालयका प्रध्यानाध्यापक पिताम्बर न्यौपानेले बार्षिक आयब्याय प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*