अनलाईन मार्फत ठगी गरेको आरोपमा ९ जना भारतीय नागरिक पक्राउ
हेटौंडा। हेटौंडामा अनलाईन मार्फत ठगि गरेको आरोपमा ९ जनालाई पक्राउ गरी मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिकहरु २८ वर्षीय नवनीत कुमार,२७ वर्षीय शाहरुख खान, २९ वर्षीय कुन्दन कुमार, २६ वर्षीय आशिष कब्डौला, ३४ वर्षीय विशाल कक्कड, ३८ वर्षीय लोकेश कुमार दवे, २९ वर्षीय विकास कुमार सिंह, २८ वर्षीय अरुण कुमार र ४० वर्षीय कुनाल शर्मा रहेका छन् ।
त्यस्तै ठगी घटनामा संलग्न अरु तीनजना फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट ३ थान राउटर, १३ थान मोबाइल, १ थान हार्ड डिस्क, ४ थान हेडफोन, २ थान माउस, १८ थान ल्यापटप चार्जर, १ थान वेब क्यामेरा, ४ थान स्ट्याम्प फेला पारेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ पारिजातपथ स्थित एक घरको पाचौँ फल्याट भाँडामा लिई असिष्ट नामको कम्पनी देखाई अनलाईन मार्फत ठगिको कारोबार गरिरहेको सुचना पाउनसाथ गत श्रावन २१ गते प्रहरीले घटनाको छानबिन गरी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले हेटौंडा उपमहानगरपालिकामा परामर्श सेवा प्रदान गर्ने बहानामा असिष्ट नामको कम्पनी दर्ता गरी अवैधानिक काम गरेको अनुसन्धानले देखाएको छ ।
उक्त कम्पनीद्वारा कुनैपनि आर्थिक कारोबार कानुन बमोजिम नभएको र अभिलेखिकरण पनि नराखिएको र विशेषगरी नेपाली र विभिन्न देशका नागरिकहरुलाई टार्गेट बनाउने गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै क्वीक कल क्लाएन्ट सफ्टवेयर मार्फत टारगेट पहिचान गरी टारगेटको सम्पुर्ण डिटेल सोहि सफटवेयर मार्फत भारत ट्रान्सफर गर्ने गरिएको पाइएको छ ।
कार्यरत व्यक्तिहरुले तलब रकम बापत १८ देखि ५० हजार सम्म भारतीय रुपैँया नगद लिने तर भुक्तानीको कुनैपनि अभिलेख नराख्ने गरेकोसमेत प्रहरी जनाएको छ ।







