एसईईमा उत्कृष्ट नतिजा ल्याउने मकवानपुरका २५७ जना विद्यार्थीलाई सम्मान

अखबार हब
२०८१ श्रावण ४, शुक्रबार २०:३२

हेटौंडा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरले शुक्रबार एसईई परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरेको छ।

कार्यक्रममा जिल्लाका ३६ विद्यालयका २५७ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। यी सबै विद्यार्थीहरूले एसईई परीक्षामा ३.६ भन्दा माथिको जीपीए हासिल गरेका थिए।

४.० जीपीए प्राप्त गरी जिल्लामै सर्वोत्कृष्ट नतिजा हासिल गरेकी बालजागृती इङ्गलिस सेकेण्डरी बोर्डिङ स्कुलकी छात्रा रितिका छत्कुली र छात्रतर्फ ३.९५ जीपीए नतिजा हासिल गरेका हरि चन्द्र मुखियालाई विशेष सम्मान गरियो।

सम्मानित हुनेहरूमा बालजागृती बोर्डिङका ३४ जना, आधुनिक राष्ट्रिय माविका ३० जना, नवोदय शिशु सदनका २२ जना, भुटान देवी माविका १५ जना, ज्ञानदिप माविका १५ जना, हेटौँडा एकेडेमीका ८ जना लगायत अन्य विद्यालयका विद्यार्थीहरू रहेका थिए।

प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीले समग्र देशमा एसईईको नतिजा कमजोर रहेको अवस्थामा पनि मकवानपुरको नतिजा सन्तोषजनक रहेको बताए। उनले विद्यार्थीहरूलाई आफ्नो योग्यता र रुचि अनुसार उच्च शिक्षाको क्षेत्र छनौट गर्न सुझाव दिए।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले स्थानीय सरकारले शिक्षा सुधार योजनासहित अगाडि बढिरहेको जानकारी दिइन्। उनले शिक्षामा राजनीतिकरण नगरिने प्रतिबद्धता व्यक्त गरिन्।

प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीको सभाध्यक्षता र हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*