मकवानपुरगढीमा एम्बुलेन्स दुर्घटना, चालक गम्भीर घाईते
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको सुकौरा स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।
मंगलबार साँझ मकवानपुरगढी गाउँपालिका-७ नर्सिङ डाँडास्थित भित्रि सडकखण्डमा सुकौराबाट नर्सिङ डाँडातर्फ बिरामी पुर्याइ फर्कने क्रममा बा.प्र.०१-००३ झ ५८०६ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भइ सडकबाट अन्दाजी २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एम्बुलेन्स चालक मकवानपुरगढी-७ बस्ने ३७ वर्षीय पेमा रत्न लामाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको र उहाँको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
लामाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।







