मकवानपुरमा दुई जनालाई घाइते बनाएको चितुवाको मृत्यु
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा दुई जनालाई घाइते बनाएको चितुवाको मृत्यु भएको छ ।
थाहा नगरपालिका–२, अंगारेमा बुधबार साँझ चितुवाको आक्रमणबाट ६६ वर्षीय हेमन्तकुमार ढकाल र ६० वर्षीया सावित्रीदेवी ढकाल घाइते भएका इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ ।
ढकाल दम्पतीलाई उपचारको लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ । हेमन्तको शरीरमा धेरै घाउ रहेको छ ।
ढकाल दम्पती घाइते बनाएपछि स्थानियहरुले चितुवा उपर प्रतिकार गर्ने क्रममा भाग्दै जाँदा नजिक रहेको पुड्खेल खोलाको ग्याबिन वालमा ठोक्किन गई चितुवाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक श्याम थापा मगरले जानकारी दिए । चितुवाको लास घटनास्थलमा नै रहेकोले डिभिजन वन कार्यालय पालुङको टोली आएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







