हेटौंडामा दोस्रो बृहत् शैक्षिक प्रदर्शनी हुँदै

अखबार हब
२०८० माघ ९, मंगलवार २२:२७

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा न. ४ ले आगामी माघ १२ गते दोस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रमले वडाभित्रका विद्यालयहरूबीच शैक्षिक प्रतिस्पर्धा गराउने र विद्यार्थीको प्रतिभा प्रदर्शनका लागि मञ्च उपलब्ध गराउने उद्देश्य राखेको छ।

वडा अध्यक्ष नविन सिग्देलका अनुसार यो कार्यक्रमबाट विद्यालयहरूले गरेका राम्रा अभ्यासको आदानप्रदान हुनेछ भने विद्यार्थीको प्रतिभा प्रकट हुन पाउनेछन्। उनका अनुसार यसबाट विद्यालयहरूको शैक्षिक गुणस्तरमा सुधार आउने विश्वास गरिएको छ। यस कार्यक्रमले अन्य वडालाई समेत शिक्षामा लगानी गर्न दबाब हुने बताए। उनले लगानी गर्दा शिक्षा र स्वास्थलाई पहिलो प्राथमिकतामा समेत राखेको बताए। वडाले शिक्षामा गरेको लगानीको प्रतिफल बमोजिम सरकारी बिद्यालयमा बिद्यार्थीको संख्या उल्लेख्य बढेको समेत बताए ।

कार्यक्रममा विज्ञान, गणित र सामाजिक विषयको प्रदर्शनी, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता लगायतका कार्यक्रम हुनेछन्। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी र शिक्षकलाई पुरस्कृत समेत गरिने शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दहालले बताए ।

गत वर्ष पहिलो पटक आयोजना गरिएको यस कार्यक्रमलाई यस पटक थप व्यापक बनाइएको आयोजकले बताएको छ। आयोजकको अनुमानअनुसार करिब १० हजार जना शिक्षक,बिद्यार्थी लगायत अभिभावकको सहभागिता हुनेछ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*