हेटौंडा उपमहानगरपालिका र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम

देवराज सुवेदी
२०८० मंसिर ९, शनिबार १८:२६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हिमाली भेगमा रहेको पाँचपोखरी थाङपाल गाउँपालिका र बागमती प्रदेशको राजधानी तराई भेगमा रहेको हेटौँडा उपमहानगर पालिकाबीच भगिनी सम्बन्धका लागि समझदारी भएको छ ।

शुक्रवार पाँचपोखरी थाङपाल गाउँपालिका ४ स्थित नागीथाम डाँडा एवम् पेमाछल उद्यान केन्द्रमा गुरु रिन्पोछे (पदमा सम्भव) को प्रतिमा शिलान्यास कार्यक्रममा दुईपक्षबीच भगिनी सम्बन्धको लागि समझदारी भएको हो ।

हेटौँडा उपमहानगरपालिकाका वित्त व्यवस्थापन महाशाखाका प्रमुख अनिरुद्ध नेपालको रोहवरमा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा र हेटौँडा उपमहानगर पालिकाकी प्रमुख मिनाकुमारी लामाबीच समझदारी पत्रमा हस्ताक्षर भएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुइँकेलले जानकारी दिए ।

कार्यक्रममा हेटौँडा उपमहानगर पालिकाकी प्रमुख मिनाकुमारी लामाले पाँचपोखरीको विकासका लागि हेटौँडा उपमहानगरपालिका सधैँ साथमा रहने बताए । उनले भगिनी सम्बन्धलाई उचाइमा पु¥याउन दुबैपक्षको महत्त्वपूर्ण भूमिका रहनुपर्ने बताए ।

त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले हिमाली भेगमा रहेको पालिका र तराई भेगमा रहेको उपमहानगरपालिकाबीच भएको भगिनी सम्बन्धले आफूलाई खुशी तुल्याएको बताए । उनले आगामी दिनमा भगिनी सम्बन्धलाई थप मजबुत बनाउन लागि पर्ने बताए । पेमाछल उद्यान केन्द्रका प्रमुख लामा फूर्वा सिंगी लामाले पाँचपोखरी पर्यटकीय गन्तव्य रहको भन्दै यसको विकासका लागि दुवै पालिका मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिए । नागीडाँडाको धार्मिक महत्वका बारेमा जानकारी दिदैँ लामाले सहयोगका लागी उपमहानगरपालिका लाई धन्यवाद ब्यक्त गरेका छन् ।

हेटौडा उपमहानगरपालिकाले गुरु रिन्पोछे (पदमा सम्भव) को ५१ फिट उचाइ भएको प्रतिमा निर्माणका लागि २० लाख सहयोग गर्ने सम्झौतामा उल्लेख छ । शिलान्यास कार्यक्रमकाबीच हेटौँडा उपमहानगरपालिकाकी प्रमुख लामाले मूर्ती निमार्णका लागी अझै एक करोड सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

भगिनी सम्बन्ध स्थापित तथा मुर्ति शिलान्यास कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी , हेटौंडा उपमहानगर पालिकाका उप निर्देशक अनिरुद्र नेपाल, पाँचपोखरी थाङपाल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुइँकेल,वडा अध्यक्ष द्धय काले गोले र ङिमाछिरिङ तामाङ ,हेटौंडाका वडा अध्यक्ष , कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*