ढकमक्क सयपत्री फूल, तिहारको निम्तो (फोटो फिचर)

अखबार हब
२०८० कार्तिक २०, सोमबार १०:३५

मकवानपुर । फूलैफूलको पर्व तिहार आउन अब एक साता मात्र बाँकी छ ।

मकवानपुरमा ढकमक्क फूलेका सयपत्री फूलहरुले तिहारलाई स्वागत गरिरहेका छन् । उज्यालोको पर्व तिहारमा सबैभन्दा बढी प्रयोग हुने सयपत्री फूलको मकवानपुरमा व्यवसायीक खेती हुन थालेको छ ।

मकवानपुरका किसानले लगाएको सयपत्री फूल यतिबेला बारीमा ढकमक्क फूलेर बजार लैजान तयार भएका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ , १२, १३, १४ लगायतका ठाउँहरुका २० बिगाहा जमिनमा फूलखेती भइरहेको छ ।

सयपत्री फूल फूलेपछि वरिपरिको सौन्दर्यसमेत बढेको छ । पछिल्ला केही वर्षयता मकवानपुरमा व्यवसायिक फूलखेती हुनेक्रम बढ्दै गएको छ । छोटो समयमा राम्रो आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षणसमेत बढ्दै गएको छ ।

सयपत्री फूलको सुगन्धले चाडपर्वको माहोललाई थप उल्लासमय बनाएको छ । बाह्रै महिना फूल्ने भएपनि तिहारमा सयपत्री फूलको विशेष महत्व रहने गर्छ ।

पारिलो घाम लाग्ने ठाउँमा राम्रोसँग फुल्ने सयपत्री फूल रोपेको ८० देखि ९० दिनमा फुल्ने गर्छ । सौन्दर्य र सुगन्धित सयपत्री फूलका अनेकन विशेषता छन् । तिहारमा पूजाआजा गर्न, घर सजावट गर्न र भाइटिकामा दाजुभाइका लागि माला बनाउन सयपत्री फूलको प्रयोग हुने गर्दछ ।

सयपत्री फूल धेरै प्रजातीको हुन्छ र यसको प्रयोग सृष्टीकाल शताब्दीदेखि नै भएको मानिन्छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*