हेटौंडामा सवारी दुर्घटना, ६ जना घाइते
मकवानपुर । हेटौंडामा दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर ६ जना घाइते भएका छन् ।
जिल्लाको हेटौंडा –८ र हेटौंडा–४ मा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर उनीहरु घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ स्थित कर्रा पुल नजिकै आज दिउँसो सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको ना.४४ प.८९२० नम्वरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको ना १ ह ९३८९ नं.को अटो एकापसमा ठक्कर खादा मोटरसाइकल उच्छिटिन गई हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको साईकल यात्री समेतलाई ठक्कर दिई दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।
यसैगरी, आजै दिउँसो हेटौंडा–८ गौरीचोकस्थित भएको सवारी दुर्घटनामा परेर तीन जना घाइते भएका छन् । कमानेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २१ प ९६४६ नम्वरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा तीन जना घाइते भएको मकवानपुर प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक हेटौंडा–१ चौकीटोल बस्ने बर्ष २२ को महेश लामा, मोटरसाइकल पछाडी सवार हेटौंडा–९ पशुपतिनगर बस्ने बर्ष २६ को गोबिन्द श्रेष्ठ र साईकलयात्री हेटौंडा–८ मैदाटोल बस्ने बर्ष ७० को तिलक बहादुर बुढाथोकी रहेका छन् ।
श्रेष्ठ र बुढाथोकीको हेटौंडा अस्पताल र लामाको सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अटो चालक हेटौंडा–८ कमाने बस्ने बर्ष ५० को राम मणी घिमिरे प्रहरी नियन्त्रणमा रहेका छन् ।
त्यसैगरि गौरीचोकमा भएको मोटरसाईक दुर्घटनामा घाइते भएकी पैदल यात्री बर्ष १९ की रेखा पुर्रकुटी, चालक हेटौंडा–१७ बस्ने वर्ष १८ को हिमाल भुजेल र मोटरसाईकलमा सवार हेटौंडा–७ बस्ने बर्ष २२ की गोमा तिम्लसिनालाई उपचारको लागी हेटौंडा अस्पताल पठाईएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







