हेटौंडामा वृहत खेलकुद तथा व्यापार महोत्सव हुने
मकवानपुर । हेटौंडामा वृहत खेलकुद तथा व्यापार महोत्सव हुने भएको छ ।
मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा हेटौंडामा वहृत् खेलकुद तथा व्यापार महोत्सव हुने भएको हो।
हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा पुस ५ गतेदेखि १७ गतेसम्म महोत्सव हुने आयोजक खेलकुद विकास समितिले हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । समिति अध्यक्ष वेष खड्कीका अनुसार महोत्सवका लागि हेटौंडा उपमहानगरपालिकाबाट अनुमति प्राप्त भइसकेको र आवश्यक शान्ति सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालयबाट सहयोग प्राप्त हुनेछ ।
मेला अवधिभर किनमेल, सांगीतिक प्रस्तुती, नृत्यसहित दैनिकरुपमा खेलकुद प्रतियोगिता समेत आयोजना हुने र महोत्सवभर १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने खड्कीले बताए ।
महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उधान समेत राखिनेछ । ‘महोत्वसमा जुवाजन्य क्रियाकलाप र मादक पदार्थ विक्री तथा सेवनलाई पूर्णरुपमा निषेध गरिनेछ ।’, उनले भने ।
महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गरिने जनाएको छ ।







