नवउद्यमी लक्षित उद्योग संघ मकवानपुरको बुटक्याम्प
मकवानपुर । उद्योग संघ मकवानपुरले नवउद्यमी लक्षित बुटक्याम्प गर्ने भएको छ ।
नवउद्यमशीलतामा जोड दिने उद्येश्यका साथ उद्योग संघ मकवानपुरले बुटक्याम्पको आयोजना गर्न लागेको हो ।
संघले उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडा र अन्तरप्रेरणा प्रालिसँगको सहकार्यमा नवउद्यमीहरुको खोजी गर्दै उनीहरुको व्यवसाय प्रबद्र्धनामा सहयोग गर्ने भएको हो ।
नवउद्यमशीलहरुलाई लक्षित गर्दै संघले एआईएम नवउद्यमशाला बुटक्याम्पमा हेटौंडामा सञ्चालन गर्ने बिहिबार आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।
मकवानपुर जिल्लाभित्र रहेका नव उद्यमीको पहिचान गर्दै उद्यमशीलताको परिस्थिती प्रणालीलाई सुदृढ गर्ने लक्ष्य राखेर क्याम्प गर्न लागिएको संघका अध्यक्ष स्वागतराज प्याकुरेलले जानकारी दिए ।
कार्यक्रममा १५ देखी १८ लाख खर्च हुने अनुमान आयोजकको छ । २३ गते सम्म आवेदन लिएपछि २० जनालाई छनौट गरिने संघका निवर्तमान अध्यक्ष एवम् बुटक्याम्पका कार्यक्रम संयोजक लेखराज पोखरेलले जानकारी दिए । छनौटमा परेका नवउद्यमीलाई चार दिन कार्यशाला र एक दिन हाटबजारमा संलग्न गराउने र विज्ञहरु मार्फत उनीहरुलाई सल्लाहसुझाव प्रदान गरिने संयोजक पोखरेलले बताए ।








