गौर हत्याकाण्ड बारे के भन्छ जसपा ?

अखबार हब
२०८० श्रावण २६, शुक्रबार ०८:५७

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) गृह मन्त्रालय र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच मंगलबार भएको सहमतिप्रति असन्तुष्ट देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेरै सहमतिप्रति असन्तुष्टि जनाएको जसपाले आज (शुक्रबार) त्यस विषयमा पार्टी धारणा सार्वजनिक गर्ने भएको हो ।

दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै जसपाले त्यस विषयमा आफ्ना धारणा बाहिर ल्याउन प्रवक्त मनिष सुमनले जानकारी दिए । सहमति प्रति पार्टीको आफ्नो धारणा बाहिर ल्याउने जनाउँदै उनले भने, ‘तर, हामी सरकार छाड्ने वा गठबन्धन तोड्ने पक्षमा अहिले छैनौ ।’

१७ वर्षअघि २७ जनाको ज्यान जाने गरी भएको घटनामा जसपा (तत्कालीन मधेशी जनअधिकार फोरम)का अध्यक्ष उपेन्द्र यादवसमेत संलग्न रहेको आरोप लाग्दै आएको छ । त्यही घटनाको अनुसन्धान अघि बढाउनेसहितका विषयमा गृह मन्त्रालय र संघर्ष समितिबीच सहमति भएको छ ।

गृह मन्त्रालयका तर्फबाट सहसचिव नारायणप्रसाद भट्टराई र संघर्ष समितिका तर्फबाट अध्यक्ष रूपसागरदेवी उपाध्यायले हस्ताक्षर गरेको सहमतिमा घटनापछि दर्ता भएका जाहेरीसमेतलाई अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*