माओवादी केन्द्रिय कमिटी बैठक प्रत्यक्ष प्रशारण नगर्ने स्थायी कमिटी बैठकको निर्णय
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले केन्द्रिय कमिटीको बैठक प्रत्यक्ष प्रशारण नगर्ने भएको छ ।
माओवादी केन्द्रीय कमिटीको बैठक बुधवार (आज) दिउँसो १ बजेदेखि प्रज्ञा भवनमा बस्दैछ । आजै पार्टी केन्द्रिय कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले केन्द्रिय कमिटीको बैठक प्रत्यक्ष नगर्ने निर्णय गरेको हो । केही दिनअघि पदाधिकारीको बैठकले बैठक प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेको भएपनि स्थायी कमिटीको बैठकले सो निर्णय उल्ट्याएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गदै पार्टी उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले बैठक प्रत्यक्ष प्रशारण नहुने जानकारी दिए। त्यस्तै बैठकले केन्द्रिय कमिटी निर्माणमा विधान विपरित कामहरु भएको भन्दै आजै विधान संशोधन गरेर भोलि केन्द्रिय कमिटी सदस्य थप्ने निर्णय गरेको पनि बताए ।
‘अस्ति पदाधिकारीको बैठकमा लाइभ गर्ने भन्ने थियो । स्थायी कमिटीमा नगर्ने भन्ने निर्णयमा पुग्यौँ । केन्द्रिय कमिटी निर्माणमा केही विधान विपरित काम भएका छन् । त्यसकारणले विधान आज संशोधन गरेर भोलिदेखि थप केही विशेष गरेर महिला, समावेशी, युवा, छुटेका सिनियर साथीहरुलाई ल्याउने कुरा भएको छ । को ल्याउने कुरा भएको छैन कि विधान संशोधन हुन्छ ।’– उनले भने ।
आजको केन्द्रिय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने र केही नेताहरुले बोल्ने उनले जानकारी दिए ।







