पालिकालाई भ्रष्टाचारमुक्त बनाउने कालाखेतीको प्रतिवद्धता

अखबार हब
२०८० असार १४, बिहीबार १९:३१

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले भ्रष्टाचारमुक्त पालिका बनाउन प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ मकवानपुरले आयोजना तथा गाउँपालिकाको समन्वयमा विहिबार पालिकामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार र अनियमितताप्रति आफू निकै सचेत रहेका र गाउँपालिकालाई भ्रष्टाचारमुक्त बनाइने प्रतिवद्धता जनाएका हुन ।

अध्यक्ष कालाखेतीले पालिकाको बेरुजु रकम कम गर्न लागिपरेको बताउँदै विधि पद्धति पुगेको बाहेकको रकम भुक्तानी रोकेको बताए । भ्रष्टाचार न्यूनिकरण गरि पालिकामा सुशासन कायम गर्न आफु लागि परेको जनाएका छन् । अध्यक्ष कालाखेतीले भने–‘मेरो कार्यकालमा कति राम्रो काम गर्नसक्छु थाहा छैन, तर नराम्रो चाहिँ म गर्दै गदिनँ ।’

जनताको सेवा गर्न आएको र आफ्नो तलबसमेत अध्यक्ष कोष निर्माण गरेर गरिबको सेवामा खर्च गरेको उनको भनाई छ ।

कार्यक्रममा मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले गाउँपालिकाले चालु आर्थिक वर्षमा गरिरहेका कामहरु र आगामी वर्षको योजना र कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रममा मनहरी ९ का वडाध्यक्ष राजकुमार श्रेष्ठ र मनहरी ३ का वडाध्यक्ष अनन्त अर्यालले वडागत विकास निर्माणको अवस्था र पत्रकारिता क्षेत्रबाट गरिएको अपेक्षाहरुबारे धारणा राखेका थिए ।

पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका पदाधिकारी तथा सदस्य साथै मकवानपुरमा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*