हेटौंडामा दुई दिने प्रदेशस्तरीय ‘नवप्रवर्तन उद्यमी विकास सम्मेलन’ हुँदै
मकवानपुर । बागमती प्रदेशमा प्रथम नवप्रवर्तन उद्यमी विकास सम्मेलन आयोजना हुने भएको छ ।
उक्त सम्मेलन बागमती प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको सहकार्यमा हुन लागेको हो ।
सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष तारानाथ चौलागाईंले यहि असार १४ र १५ गते हेटौंडा-४ मेनरोड स्थित रोयल पार्टी प्यालेसमा पहिलो पटक बागमती प्रदेशस्तरीय नव प्रवर्तन उद्यमी विकास सम्मेलन आयोजना हुन लागेको बताए ।
उक्त सम्मेलनमा नवप्रवर्तन उद्यमीहरु, इच्छुक लगानीकर्ताहरु र घरेलु तथा साना उद्योग महासंघका प्रदेश समिति तथा जिल्लासमितिका पदाकिारीहरु गरी करिब २ सय ५० जना उद्यमीहरुको सहभागिता रहने नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समितिका कार्यकारी अधिकृत शम्भु नेपालले जानकारी गराए ।
‘संसार अहिले नलेज बेस इकोनोमा आधारित छ । यसमा पनि सूचना प्रविधि र आधुनिक प्रविधिमा आधारित उद्यम व्यवसायलेमात्र अहिलेका उपभोक्ताहरुको चाहना परिपूर्ति गर्ने अवस्था बनिरहेको छ । नेपाल भौगोलिक हिसाबले र प्राकृतिक श्रोत सम्पदाको हिसाबले नवप्रवर्तन उद्यमीहरुका विकासकोलागि उर्वर भूमि हो ।’-कार्यकारी अधिकृत नेपालले भने । ‘त्यसैले पनि हामीले यो सम्मेलन आयोजना गर्न लागेका हौं । यो सम्मेलनबाट छानिएका नवप्रवर्तन उद्यमीहरुलाई महासंघले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय पालिकाहरु मार्फत प्रबर्द्धन र विकास गर्न सहयोग पुयाउने हाम्रो लक्ष्य हो ।’
यो सम्मेलनले प्रदेशभित्र रहेतापनी अवसर नपाएका नव प्रवर्तक उद्यमीहरुलाई एउटा मञ्च दिने र नवप्रवर्तनका विषयमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुलाई पनि सहभागी हुन प्रेरित गर्ने कार्यवाहक अध्यक्ष चौलागाईं बताउँछन् ।
पत्रकार सम्मेलनमा बागमती प्रदेश महिला उद्यम समितिकी महासचिव गिता मैनाली, नेपाल घरेलु तथा साना उद्योग संघका अध्यक्ष गणेशहरी उप्रती, वरिष्ठ उपाध्यक्ष सुवर्णलाल श्रेष्ठ, महासचिव कुमार पौडेल, सचिव राजु खतिवडा र महिला उद्यम समिती मकवानपुरकि सभापति सन्तोषी बानियाँलगायतको उपस्थिति रहेको थियो ।







