विपद् प्रभावित किसानलाई कृषि मन्त्रालयको ५४ लाख क्षतिपूति

अखबार हब
२०८० असार ४, सोमबार १७:२८

मकवानपुर । प्राकृतिक र गैरप्राकृतिक विपद्बाट क्षति भएका कृषकलाई बागमती प्रदेश सरकारले क्षतिपूर्ति तथा राहत रकम वितरण गरेको छ ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विपदबाट असर परेका कृषकहरुलाई ५४ लाख ६१ हजार रुपैयाँ क्षतिपूर्ति तथा राहत रकम वितरण गरेको हो ।

मन्त्रालयले पहिलो चरणमा काभ्रे जिल्लाका आठवटा फर्मलाई उक्त रकम उपलब्ध गराएको हो । कोषमा चालु आवमा तीन करोड रुपैयाँ रहेको छ । सरकारले आगामी आव २०८०/०८१ मा ५ करोड रुपैयाँ कोषका लागि विनियोजन गरेको छ ।

वीमा नगरी कृषि कार्यमा संलग्न रहेका किसानहरु उत्पादनमा पुगेको क्षतिलाई न्यूनीकरणमा सहयोग गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा प्राप्त निवेदनको आधारमा उक्त रकम वितरण गरेको हो ।

हालसम्म मन्त्रालयमा ४० वटा फर्मले क्षतिपूर्तिका लागि निवेदन दिएको र पहिलो चरणमा टिम भिजन एग्रिकल्चर फर्म पनौती–५, श्रेष्ठ बंगुर फर्म पनौती–१०, उन्नती हाम्रो बंगर फर्म पनौती–१०, एसएस बंगुर माछा तथा कृषि फर्म बनेपा–७ लाई दस/दस लाख रुपैयाँ राहत रकम उपलब्ध गराएको हो ।

नोबेल कृषि फर्म धुलिखेललाई ५ लाख ७० हजार, हाम्रो माझीफेदा पशुपालन तथा कृषि फर्म चौरीदेउराली–३, काभ्रेलाई ३६ हजार, दाजुभाइ एकीकृत बहुउद्देश्यीय कृषि फर्म पनौती–९ लाई ३५ हजार, गैरीगाउँ कृषि तथा पुशपन्छी फर्म पनौती–५ लाई ८२ हजार प्रदान गर्ने निर्णय गरेको मन्त्रालयका सचीव डा.शरण पाण्डेले जानकारी दिए ।

‘कार्यविधिमा बढीमा दस लाख रुपैयाँ क्षतिपूर्ति दिन मिल्ने व्यवस्था छ । अन्य जिल्लाबाट पनि निवेदन प्राप्त भएका छन् । हामी क्रमशः निर्णय गर्दै अगाडि बढ्नेछौं ।’, मन्त्रालयका प्रवक्त झलकनाथ कडेँलका अनुसार प्रहरी, स्थानीय तह, कृषि कार्यालय र जिल्ला राहत सिफारिसमा मन्त्रालय राहत उपलब्ध गराउनेछ ।

मन्त्रालयमा असार जेठसम्ममा काभ्रे ८, चितवन १०, मकवानपुर ८, ललितपुर ६, धादिङ, दोलखा, सिन्धुपाल्चोक २/२ र नुवाकोट र सिन्धुली १/१ वटा निवेदन राहत रकम माग गर्दै दर्ता भएका छन् । ‘यसअघि बर्डफ्लुबाट प्रभावित किसानलाई मात्र राहत रकम दिने गरिएको थियो,’ मन्त्रालयका सचिव पाण्डेले भने । प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट असर परेका कृषकलाई क्षतिपूर्ति उपलब्ध गराउने वाग्मती पहिलो प्रदेश भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*