हेटौंडामा २ दिने युवा सम्मेलन हुने
मकवानपुर । बागमती प्रदेशको सदरमुकाम हेटौंडामा प्रथम युवा सम्मेदन हुने भएको छ ।
प्रदेश युवा परिषद्ले आगामी ११ र १२ असारमा हेटौंडामा प्रथम प्रदेश युवा सम्मेलन आयोजना गर्न लागेको हो ।
यसको लागि परिषदको कार्यालयमा सचिवालयको स्थापना समेत गरिसकिएको छ । सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशीताको आधारमा युवाको सहभागिता रहने युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताए ।
सम्मेलनमा युवालाई अभिमुखीकरण र अभिप्रेरित गर्ने गरी ख्यातीप्राप्त व्यक्तित्व, सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वलाई स्रोतव्यक्तिकोरुपमा सहभागी गराइने छ ।
सम्मेलनमा सहभागी युवाले आफ्ना अनुभव, अपेक्षा र योजना प्रस्तुत गरेर अन्तरक्रियात्मक सहभागीता जनाउने छन् ।
दुईदिन हुने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना गरिनेछ । सम्मेलनमा नवप्रवर्तन र नवीनतम् सोंचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमले युवासँग अन्तरक्रिया गर्नेछन् । कारखाना समूह विद्यालय तहको गुणस्तरीय शिक्षाका लागि गैरसरकारी तवरबाट क्रियाशील संस्था हो ।
यसैगरी सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठीले सम्मेलनमा सहभागी युवासँग अन्तरक्रिया गर्नेछन् । त्रिपाठी युवा वैज्ञानिक कोषका सदस्य हुन् ।
यसैगरी सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टिकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गर्नेछन् ।
उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डाक्टर सुयश कार्की र पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले अन्तरक्रिया गर्नेछन् ।
डा कार्की डाक्टर अन कल अनलाइनका सञ्चालक हुनुहुन्छ भने पूर्वमिस नेपाल श्रेष्ठ नेपाली उत्पादनको प्रवर्द्धनमा सक्रिय छिन् ।
यस्तै सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतको प्रस्तुती रहनेछ ।
सम्मेलनमा १५० युवाको सहभागिता रहनेछ । सम्मेलनमा सहभागी हुन २० देखि ३५ वर्ष उमेर समूह तोकिएको छ । यसको लागि प्रत्येका जिल्लाबाट जिल्ला युवा समितिमार्फत नै ७५ जना सहभागी सिफारिस गर्नेछ । यसैगरी अनलाइनमार्फत सहभागिताका लागि ६० जना युवा सहभागी हुनेछन् । यस्तै सरोकारवाला निकायको सिफारिसमा १५ जना सहभागी हुनेछन् ।
कार्यक्रमबारे पत्रकार सम्मेलन गर्दै चौलागाईले लक्ष्यित वर्ग र समूदायको व्यक्तिलाई सहभागी गराउन विशेष पहल गरिने बताए । पत्रकार सम्मेलनमा प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले युवालाई स्वरोजगार र आत्मानिर्भर बनाउन यो सम्मेलन महत्वपूर्ण हुने बताइन् ।







