खरेडीको मारमा हाँडिखोलाका किसान
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका किसान सिचाइको अभावमा यति खेर चिन्तीत छन् । निरन्तरको खरेडीका कारण आकासे पानीको भरमा खेति गर्न बाध्य साबिक हाँडिखोलाका किसान महिनौं देखिको खरेडीका कारण मारमा परेका हुन् ।
राप्ती खोलाबाट करिब २ सय मिटरको दुरीमा रहेको उक्त भेगमा सिचाई नपुग्दा किसानले लगाएका धान, मकै, तरकारी लगायतका बाली सुकेर पुर्न रुपले नष्ट भएको हो ।
हाँडिखोला निवासी युवा किसान सञ्जिव पाठकले राप्ती खोलाबाट करिब २ सय मिटकको दुरीमा रहेका किसानले यस्तो दुरदशा भोग्नु परेकोमा दुःख व्यक्त गरे । उनले भने ‘सिचाइको अभावमा बर्ष दिन भरी खान पुग्ने अन्न सुकेर सखाप भयो, पालिकाको ध्यान जान सकेको भए यस्तो अवस्था आउने थिएन् ।’ एउटा पानी तान्ने मोटर र दुई/तीन सय मिटर पाईपले सिचाइ हुने स्थानमासमेत सम्बन्धित निकायको ध्यान जान नसक्दा यस्तो अवस्था आएको उनी बताउछन् ।

मनहरी गाउँपालिका वडा नम्बर १ का गणेश बर्तौलाले करिब १० गठ्ठा जमिनमा धान खेती गरेका छन्, आकासे पानीको भरमा खेती गरेका बर्तौला लगातारको सुख्खाको कारण चिन्तीत छन् । ‘धान फल्ने बेला खरेडी गयो सिचाईको सुविधा छैन, अब के खाएर बाच्ने’ उनले दुखेसो सुनाए ।
स्थानीय सरकारको ध्यान किसानको समस्यामा भन्दा बढी नदी जन्य पदार्थमा भएकोले किसान मारमा परेको स्थानीय राममणी न्यौपानेले आरोप लगाएका छन् । कृषिलाई प्राथमीकतामा नराखि आफु अनुकुल जनप्रतिनिधिहरु बजेट विनियोजनमा लाग्दा किसानहरुले यस्तो अवस्था भोग्नु परेको उनी बताउछन् ।
कृषि बाटै जिविको पार्जन गरिरहेका यस क्षेत्रका बासिन्दाहरु आफुहरुले लगाएको बालि सिचाइको अभावका कारण नष्ट हुने अवस्था आएकोमा चिन्तित देखिन्छन् ।







