मकवानपुरका स्थानीय तहलाई संघीय सरकारको ४ अर्ब
मकवानपुर । आर्थिक वर्ष २०८०/०८१ को लागि संघीय सरकारले मकवानपुरका स्थानीय तहलाई ४ अर्ब रुपैयाँभन्दा धेरै बजेट छुट्याएको छ ।
सोमबार संघीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको विनियोजित बजेटमा मकवानपुरका १० स्थानीय तहलाई ४ अर्ब २९ करोड ५८ लाख रुपैयाँ अनुदानबापत प्राप्त हुने भएको हो ।
अनुदान रकममा सबैभन्दा धेरै रकम हेटौंडा उपमहानगरपालिकालाई छुट्याइएको छ । उपमहानगरपालिकालाई १ अर्ब १४ करोड ५० लाख विनियोजित अनुदान रकम रहेको छ । सरकारले अनुदान रकमबापत बकैया गाउँपालिकालाई ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
सरकारले अनुदान रकम सबैभन्द कम इन्द्रसरोवर गाउँपालिकामा विनियोजन गरेको छ । अनुदानबापत इन्द्रसरोवरले २३ करोड ३६ लाख बजेट पाउने भएको छ । यस्तै, सरकारले थाहा नगरपालिकामा ४५ करोड ४ लाख, कैलाश गाउँपालिकामा २८ करोड ३२ लाख, बागमती गाउँपालिकामा ३५ कारोड १४ लाख, भीमफेदी गाउँपालिकामा ३४ करोड ४६ लाख, मकवानपुरगढी गाउँपालिकामा ३६ करोड ३८ लाख, मनहरी गाउँपालिकामा ३४ करोड २३ लाख र राक्सिराङ गाउँपालिकामा ३२ करोड १५ लाख अनुदान रकम उपलब्ध गराउने बजेटमा उल्लेख छ ।







