हेटौंडामा मनाइयो १६ औं गणतन्त्र दिवस

अखबार हब
२०८० जेष्ठ १५, सोमबार १२:५४

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा विविध कार्यक्रमको आयोजना गरी १६ औं गणतन्त्र दिवस मनाइएको छ । नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ । बागमती प्रदेश सरकारको आयोजनामा हेटौंडामा आज बिहान प्रभातफेरी र सभा गरेर यो दिवस मनाइएको हो ।

गणतन्त्र दिवस कार्यक्रमलाई संबोधन गर्दै बागमती प्रदेश प्रमुख यादब चन्द्र शर्माले ०६२/०६३ को बसन्त क्रान्तिको जगमा जन निर्वाचित संविधानसभाले २०६५ जेठ १५ गतेका दिन नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने ऐतिहासिक दायित्व पूरा गरेको बताएका छन् ।

यस दिनदेखि परम्परागत राजतन्त्र, एक दलीय पंचायती व्यवस्था र एकात्मक राजकीय प्रणालीको अन्त्य भएको बताए । परिणामतः नेपाली जनता सार्वभौम सत्ता सम्पन्न भए,लोकतान्त्रिक मूल्य मान्यताका आधारमा मौलिक अधिकारको सुनिश्चित भयो र नयाँ संविधान निर्माण पश्चात दुईवटा निर्वाचन सम्पन्न भई आज सबै तहका सरकारहरु क्रियाशील रहेको प्रदेश प्रमुख शर्माले बताए । महान शहीदहरुको बलिदानको जगमा प्राप्त उपलब्धीहरुको रक्षा गर्दै अघि बढ्नु हामी सबैको दायित्व रहेको उनको भनाइ छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मन्त्रीहरु, सांसदहरु, मन्त्रालयका सचिबहरु, कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो । गणतन्त्र दिवसका अवसरमा विभिन्न विधामा पत्रकारहरुलाई पुरस्कृत समेत गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*