आधुनिक खेतीका लागि थाहामा थप ५६ टनेल निर्माण गरिने

अखबार हब
२०८० बैशाख २७, बुधबार १०:२२

मकवानपुर । थाहा नगरपालिकाका थप ५० जना कृषकहरुलाई स्थायी प्लास्टिक घर (टनेल) निर्माणका लागि थाहा नगरपालिका र च्वाईस नेपालको सहकार्यमा सोमबार प्लास्टिक बितरण गरिएको छ ।

थाहा नगरपालिका, बिकास साझेदार संस्था च्वाईस नेपाल र कृषकको संयुक्त लगानीमा निर्माण हुने स्थायी प्लास्टिक घरको लागि ९० जिएसएमको ७२ बर्गमिटरको सिपोलिन प्लास्टिक बितरण गरिएको हो ।

कृषकहरुलाई आधुनिक तरिकाले व्यवसायीक तरकारी खेतितर्फ आकर्षण गरि आत्मनिर्भर बनाउनको लागि स्थायी प्लास्टिक घर प्रभावकारी हुने थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले बताए । प्रमुख बिष्टले थाहा नगरको शिक्षा, स्वास्थ, खानेपानी, कृषि लगायत क्षेत्रको बिकासमा च्वाईस नेपालको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

उनले थाहा नगरको कृषि क्षेत्रमा आधुनिक प्रबिधिको बिकासमा नगरपालिकाले जोड दिईरहेको समेत जानकारी दिए । आधुनिक प्रबिधिमा आधारित भएर कम लागतमा गुणस्तरीय उत्पादनमा केन्द्रित हुन प्रमुख बिष्टले कृषकहरुलाई आग्रह समेत गरेका छन् ।

थाहा नगरपालिका कृषि शाखा प्रमुख संजय तिवारीका अनुसार सोमबार प्लास्टिक वितरण गरिएका कृषकहरुका लागि थाहा नगरपालिकाको विकास साझेदारको रुपमा क्रियाशिल संस्था च्वाइस नेपालले फलामको टनेल निर्माणका लागि सहयोग गर्नेछ । उनले सिपोलिन प्लास्टिक खरिदको लागि थाहा नगरपालिकाले १ लाख पचास हजार रुपैंया बिनियोजन गरिएको बताए ।

प्रति प्लाष्टिक घर ४५ हजार खर्च अनुमान गरिएको टनेलका लागि च्वाइस नेपालको तर्फबाट प्रति टनेल २५ हजार रुपैयाँ खर्च गरिने च्वाइस नेपालका ग्रामीण विकास विज्ञ प्रताप घिमिरेले बताए । टनेल बनाउन लाग्ने बाँकी खर्च कृषक स्वयंले गर्नुपर्ने र कृषकहरुले पनि लगानी गर्नेगरी सम्झौता गरिएको उनले जानकारी दिए ।

टनेल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको र थप ६ जना कृषकहरुको लागि शिखर बचत तथा ऋण सहकारी संस्थाको समेत सहयोग रहने च्वाइस नेपालका ग्रामिण विकास विज्ञ घिमिरेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*