हेटौंडामा वृहत उद्यमशीलता प्रदर्शनीको आयोजना हुँदै
मकवानपुर । हेटौंडामा वृहत उद्यमशीलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने भएको छ । हेटौंडा –४ को आयोजना तथा टोल विकास नगर समन्वय समिति, हेटौंडाको व्यवस्थापनमा यही जेष्ठ ५ गते वृहत उद्यमशीलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने भएको हो ।
टोल विकास संस्था, सहकारी, विभिन्न समूह र व्यक्तिले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी मार्फत प्रवर्द्धन गर्ने र सांस्कृतिक कार्यक्रमबाट राष्ट्रियता उजागर गर्ने उद्देश्यका साथ १९ वटै वडाको एक –एक वटा समूह सहभागी गरि प्रतिस्पर्धात्मक रुपमा नृत्य प्रतियोगिताको आयोजना गरिन लागेको आज एक पत्रकार सम्मेलन मार्फत वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । एक वडा एक उत्पादनलाई प्रवर्द्धन गर्ने उदृश्यले आयोजना गर्न लागेको प्रदर्शनीमा स्थानीय उत्पादनलाई सहभागिता गराइने सिग्देलले बताए ।
प्रदर्शनीको लागि एक वडा एक स्टल निःशुल्क उपलब्ध गराइने र सहभागी मध्यबाट उत्कृष्ट हुने समुहले २५ हजार रुपैयाँ, द्वितीय हुनेले १५ हजार रुपैयाँ, तृतीय हुनेले १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् भने सान्त्वना पुरस्कारसमेत प्रदान गरिने उनले बताए ।
त्यसै गरि नृत्य प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीय हुनेले ३५ हजार रुपैयाँ र तृतीय हुनेले २० हजार रुपैँया नगद पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना हुने दुई समुहले जनही दश–दश हजार रुपैयाँ नगर पुरस्कार प्राप्त गर्नेछन् ।
उक्त कार्यक्रममा राष्ट्रिय लोक दोहरी गायक बद्रि पंगेनी लगायतकोसमेत प्रस्तुति रहने आयोजकले जनाएकाको छ ।







