विकासको लागि सशक्तिकरण आवश्यक : वडा अध्यक्ष सिग्देल
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का अध्यक्ष नवीन सिग्देलले नगरको विकासमा टोल विकास संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
शनिवार पृथ्वीपथ टोल विकास संस्थाको साधारण सभामा बोल्दै वडा अध्यक्ष सिग्देलले राजनीतिक संकिर्णताभन्दा माथी उठेर विकासलाई बुझ्नुपर्ने र यसको वास्तविक प्रतिनिधित्व टोल विकास संस्थाले गर्नसक्ने र टोल विकास संस्थाको परिचालनद्वारा सामाजिक अभियानमा जोड दिनपर्ने बताएका हुन् ।
उनले टोल विकास संस्थाको परिचालनद्वारा जनतालाई शसक्तिकरण गर्न सकिने र विकासमा जनसहभागीता गराउन मद्त गर्ने बताए । जनताको सचेतना तथा शसक्तिकरण विना विकास दिगो र प्रभावकारी हुन नसक्ने भन्दै उनले टोल विकास संस्था सशक्त हुनुपर्ने बताए ।
टोल विकास संस्थाका अध्यक्ष चन्द्राकान्त श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दाहाल, उपाध्यक्ष शान्ति श्रेष्ठ, सदस्य तथा ४ नं. वडा ईन्चार्ज उर्मिला रानाको उपस्थिति रहेको संस्थाका सचिव अर्जुन पोखरेलले जानकारी दिए ।







