राक्सिराङ्गमा फर्जी बिल मार्फत नदि जन्य पदार्थ निकासी, बेखबर पालिका
मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा फर्जी बिलको प्रयोग गरि नदी जन्य पदार्थ निकासी भइरहेको पाइएको छ ।
पालिकाले टेन्डर मार्फत नदि जन्य पदार्थको उत्खनन तथा निकासी गर्न जिम्मा दिएको गतिशील निर्माण सेवा प्रालिले फर्जी बिलको प्रयोग गरि नदि जन्य पदार्थ निकासी गरिरहेको हो ।
नदि जन्य पदार्थ उत्खनन तथा निकासी गर्न पालिकाले ५ करोड ९ लाखमा गतिशील निर्माणसँग सम्झैता गरेको थियो । मापदण्ड भन्दा बढी नदी जन्य पदार्थ उत्खनन गरिरहेको ठेकेदार कम्पनीले राज्यलाई थप ठग्ने नियतका साथ फरक फरक मितिमा एकै नम्बरको दोहोरो बिल काटेर राज्यको सम्पति दोहन गरिरहेको हो ।

ठेकेदार कम्पनीले फागुन २९ गते ६३६ क्यू फिट ढुङ्गा निकासी गर्दा रसिद नम्बर १८१० बाट भ्याटसहित ६ हजार ४ सय ६८ रुपैयाँको बिल काटेको छ, भने सोही रसिद नम्बर बाट चैत ११ गते ४५४ क्यू फिट ग्राभेल भ्याटसहित ४ हजार ३ सय १२ रुपैयाँको बिल काटेको हो ।
राज्यको करोडौं दोहन गर्ने मनसायका साथ ठेकेदार कम्पनीले फर्जी बिल काट्दा समेत पालिकाका जनप्रतिनिधि भने बेखबर जस्तै बनेका छन् । यस विषयमा बुझ्न खोज्दा राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष एवम् पालिका प्रवक्ता हरि बहादुर प्रजाले आफुहरुलाई यस विषयमा कुनै पनि जानकारी नआएको प्रतिक्रिया दिएका छन् । ठेकेदार कम्पनीले फर्जी बिल मार्फत ढुङ्गा गिटी निकासी गर्नु गतल भएको र यस विषमा पालिका अध्यक्षलाई जानकारी गराउँने उनले बताए ।







