राष्ट्रपति चयनका लागि मतदान सुरु

अखबार हब
२०७९ फाल्गुन २५, बिहीबार ११:१७

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको हो ।

राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।

मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् । त्यसपछि मात्र नेम्वाङले मतदान गरे ।

निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिएका छन् ।

दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । संघीय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य) र प्रदेश सभा सदस्यहरुले मतदान गर्दैछन् ।

संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ ।

संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ । उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*