भूकम्प आउने हल्लाले रातभर जाग्राम

अखबार हब
२०७९ माघ १६, सोमबार १३:३०

जुम्ला । भूकम्प आउन सक्ने भन्दै गलत हल्ला फैलिएपछि कर्णालीको मुगु, कालिकोट र जुम्लाबासी खुलामैदानमा रातभर जाग्राम बसेका छन् । उनीहरुले आफूलाई आवश्यक पर्ने सामान लिएर कठ्यांग्रिँदो चिसोमा खुला आकाशमुनि रात बिताएका हुन् ।

जुम्ला सदरमुकाम खलंगाको चोकचोकमा आगो बालेर सर्वसाधारण बसेका थिए । उनीहरुले कम्बल, महत्त्वपूर्ण सरसामान समेत आफैसँग लगेका थिए । गाउँगाउँमा पनि मानिसहरु बाहिर आगोबालेर बसेका थिए ।

मध्यरातपछि बुढाबुढी,केटाकेटीलाई समेत घर बाहिर निकालेर राखिएको देख्न पाइन्थ्यो । मस्त निद्रामा रहेकाहरु पनि आफन्तले फोन गरेर सुरक्षित स्थानतिर बस्न आग्रह गरेपछि खुलामैदानमै आएका थिए ।

पहिलो पटक राति १ बजे भूकम्प आउने हल्ला फैलियो । त्यसपछि ३ देखि ४ बजे सम्म भूकम्प आउने हल्ला थियो । अन्तिममा ५ बजेर १२ मिनेटमा ठूलो रेक्टर स्केलको भूकम्प आउने हल्ला फैलिएपछि कर्णालीका नागरिक त्रासित बनेका थिए । राति १२ बजे देखि नै खुला आकाशमा बसेका मानिस बिहान ६ बजेतिर मात्रै घरभित्र प्रवेश गरेका थिए ।

मानिसहरु भूकम्प आउने त्रासले घरबाहिर खुला मैदानमा बसेको देखेपछि स्थानीय प्रशासनले भूकम्पको भ्रम फैलाउने व्यक्तिको अनुसन्धान सुरु गरेको जनाएको छ । तर को व्यक्ति,कहाँबाट, कसरी हल्ला फैलाउन थालियो भन्ने पत्ता लागिसकेको छैन ।

जुम्लाको माइनस डिग्रीको चिसोमा मानिसिहरु एकाएक घरबाहिर निस्कनुले उनीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने देखिएको छ । केहीले भूकम्प आउने कुरा हल्ला भएको भन्दै भ्रममा नपर्न आग्रह गरिरहेका थिए । तर धेरैजसो नागरिक इन्टरनेटको पहुँचमा नभएकोले जानकारी पाउन सकेनन् । उनीहरुलाई भ्रमपूर्ण सूचनाबाट मुक्त रहने अवसर नै प्राप्त भएन । सबै नागरिक घरबाहिर निस्केपछि भूकम्प सम्बन्धि जानकार भएका व्यक्तिहरु पनि बाहिर निस्कन बाध्य भएका थिए ।

भूकम्प आउने हल्ला फैलाउनेलाई कारबाही हुनुपर्ने माग जुम्लाबासीको छ । स्थानीय खड्कबहादुर खत्रीले अनावश्यक आधारहीन भ्रम छरेर नागरिकलाई दुःख दिने जो सुकैलाई कारबाही गर्नुपर्ने माग गरे ।

उनले भने, ‘भूकम्प कसैलाई सोधेर, टेलिफोन गरेर आउने भइदिएको भए संसारमा किन यति धेरै क्षति हुन्थ्यो । यो भूकम्पको भ्रम छरेर कर्णालीबासीलाई दुःख दिनेलाई प्रहरी प्रशासनले खोजेर हदैसम्मको कारबाही गर्नुपर्छ भन्ने माग कर्णालीबासीको छ ।’

भूकम्प आउने भन्दै नागरिक घरबाहिर निस्कन थालेपछि प्रहरी प्रशासनलाई टेलिफोन गरेर जानकारी लिने बढेका थिए । स्थानीय प्रशासनले यो हल्ला निराधार भएको भन्दै ढुक्कसँग बस्न आग्रह गरेको थियो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले रातभर फोन आएर हैरानी खेप्नु परेको बताए । उनले भने, ‘जताततैबाट टेलिफोन आइरहेका छन् । कसलाई सम्झाइ सक्नु १’ उनका अनुसार नागरिकलाई गलत अफवाह फैलाएर दुःख दिनेलाई खोजी कार्य सुरु भएको छ । भेटिनेवित्तिकै कारवाही गरिने प्रमुख जिल्ला अधिकारी केसरीले बताए ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपत व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले भूकम्प आउने पूर्व अनुमान पहिलेनै गर्न नसकिने भएकोले हल्लाको पछाडि दौडनु पर्ने अवस्था नरहेको बताए । उनले यो हल्ला फैलाउने व्यक्तिलाई खोजेर कारवाही गर्न माग गरे ।

जुम्लाका प्रहरी प्रमुख डिएसपी नरेन्द्र चन्दले वाहियात हल्ला फिँजाएर दुःख दिने व्यक्तिको खोजी भइरहेको बताए । उनका अनुसार मुगु प्रहरीसँग समन्वय हरेर खोजीकार्य सुरु भएको हो । कहाँबाट आएको हो कुरा, कसले भनेको हो, सुक्ष्म अध्ययन हुने उनले बताए । उनले भने, ‘हामी खोज्दैछौं । अनुसन्धान हुन्छ ।’ ईकान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published.


*