मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया गर्न डा.रुइत हेटौंडा आउँदै
मकवानपुर । वरिष्ठ नेत्र चिकित्सक डाक्टर सन्दुक रुइतद्वारा हेटौंडामा निःशुल्क आँखा शिविर तथा मोतिया बिन्दुको शल्यक्रिया गरिने भएको छ ।
लायन्स क्लब इन्टरनेशनल ३२५ एस नेपाल र लियो जिल्ला परिषद् ३२५ एस नेपालको संयुक्त आयोजना तथा तेज कोहली एण्ड रुइत फाउन्डेसनको सहयोगमा निःशुल्क शिविर तथा शल्यक्रिया कार्यक्रम हुन लागिएको कार्यक्रम संयोजक अमित शर्माले बताए ।
आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै लायन्सको डिष्ट्रीक्ट ३२५ एसको एरिया २ चिफ बिकेशलाल श्रेष्ठले शिविरमा करिब १ हजार ८ सय ५० को आँखा परिक्षण ४३० जनाको शल्यक्रिया गरिने जानकारी दिए ।
उक्त कार्यक्रमको लागि हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहने कार्यक्रम संयोजक शर्माले बताए ।
उनका अनुसार माघ १६ देखि १८ गतेसम्म बार, सर्लाही, मकवानपुर र पर्सा जिल्लाको विभिन्न स्थानमा निस्शुल्क आँखा शिविर गरिने र माघ १९ देखि २१ गतेसम्म शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई हेटौंडा ल्याइनेछ ।
शिविरको लागि करिब ११ लाख खर्च हुने अनुमान गरिएको छ एरिया चिफ श्रेष्ठले बताए । हेटौंडा उपमहानगरपालिकाले समेत शिविरको लागि केही सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनी बताउँछन् ।
लियो जिल्ला परिषद् ३२५ एस नेपालका अध्यक्ष राहुल जालानका अनुसार आँखा शिविर तथा शल्यक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न लियो क्लबहरुको पनि उल्लेखनीय सहभागिता रहनेछ ।







