शिक्षकलाई सुविधा सहित अवकाश योजना, २० वर्ष पुगेकोले निवेदन दिन पाउने
बारा । बाराको निजगढ नगरपालिकाले नगरमा कार्यरत शिक्षकहरूलाई स्वर्णिम स्वैच्छिक अवकाश सुविधा ल्याएको छ । नगर शिक्षा समितिको पौष १७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
स्थायी सेवा अवधि २० वर्ष पुरा भएको, अनिवार्य अवकाश हुन दुई वर्ष वा सो भन्दा बढी समयावधि बाँकी रहेका र ५० वर्ष उमेर पुगेका कुनै पनि तह वा श्रेणीका शिक्षकलाई नगरपालिकाले सुविधा सहित अवकाश दिने भएको हो ।
उक्त योजनामा सहभागि हुन चाहने शिक्षकलाई फागुन ३० गते भित्र निवेदन दिन पालिकाले सूचना जारी गरेको छ । यसरी सहभागि हुने शिक्षकलाई बाकी सेवा अवधिको आधारमा सुविधा दिएर बिदा गर्ने पालिकाको योजना रहेको छ ।
जस अन्तर्रगत सेवा अवधि २ देखि ३ वर्ष रहेको शिक्षकलाई प्रति शिक्षक १ लाख पचास हजार रुपैयाँ, ३ देखि ४ वर्ष सेवा अवधि रहेको शिक्षकलाई २ लाख रुपैयाँ र ४ वर्ष देखि माथि सेवा अवधि रहेका शिक्षकलाई २ लाख ५ हजार रुपैयाँ सुविधा दिएर बिदा गर्ने पालिकाको योजना रहेको नगर प्रमुख सुरथ पुरीले जानकारी दिए ।
पालिका भित्रका विद्यालयमा कार्यरत १ सय ९२ मध्ये आधारभुत तहमा १ सय ६२ शिक्षक कार्यरत छन् । यी मध्ये ६ जना सम्म शिक्षकहरूले उक्त योजनामा सहभागिता जनाउने अनुमान रहेको पालिकाको शिक्षा शाखा प्रमुख उत्तम लामिछानेले बताए ।
लामो समय देखि शिक्षण पेसामा रहेका तर समय अनुसार अपडेट हुन नसकेका शिक्षकहरूलाई लक्षित गरि नगरपालिकाले यस्तो योजना ल्याएको लामिछानेले बताए ।








