बागमती प्रदेशमा ५ दिनभित्र सरकार गठन गर्न आह्वान
मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठनका दाबी पेस गर्न प्रदेश प्रमुखले दलहरुलाई आहृवान गरेका छन् । बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकारको मुख्यमन्त्री नियुक्त गर्न ५ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आहृवान भएको हो ।
‘प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ पुस २५ गते सोमबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आहृवान भएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ । प्रदेशमा हालसम्म कुन पार्टीले नेतृत्व गर्ने टुंगो लागेको छैन । हालसम्मको अंकगणिती हेर्दा राप्रपाको सम्भावना बलियो देखिन्छ । केन्द्रीय सत्ता समीकरण अनुसार प्रदेशसभामा एमालेका २७, माओवादीका २१ र राप्रपाका १३ गरी ६१ जना सांसद पुग्छन् ।
अर्कोतर्फ राप्रपा र एकीकृत समाजवादीसँग तालमेल गरे कांग्रेस सम्मिलित सरकार बन्ने सम्भावना छ । कांग्रेसलाई सरकार बनाउन १९ सांसदको समर्थन भए पुग्छ । कांग्रेस सम्मिलित सरकार निर्माण गर्न राप्रपाका १३, एकीकृत समाजवादीका ७ जना सांसदले साथ दिएको खण्डमा केन्द्रीय समीकरणविपरीत बागमतीमा सरकार बन्न सक्छ ।








