ईन्द्र बानियाँमाथि अन्तर्घात गरेको आरोपमा पार्टीमा उजुरी

अखबार हब
२०७९ पुष १३, बुधबार १०:४८

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँमाथि पार्टी केन्द्रीय कार्यालयमा गम्भीर आरोपसहित उजुरी परेको खुलेको छ । आज (बुधबार) हेटौँडामा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा उनी दलको नेतामा प्रतिस्पर्धा गर्दैछन् । मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित बानियाँ रनुवाकोटबाट विजयी भएका बहादुर सिं लामाबीच दलको नेताका लागि प्रतिस्पर्धा हुँदैछ । बानियाँ र लामा दुवै पार्टीमा संस्थापन पक्षका नेता हुन् । प्रदेशसभामा कांग्रेसका कुल ३७ सांसद छन् ।

संसदीय दलको निरवाचनमा उम्मेदवार रहेका उनै बानियाँविरूद्व पार्टी केन्द्रीय कार्यालय अनुशासन समितिमा १६ मंसिर २०७९ मा उजुरी परेको हो । उनीमाथि पार्टी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र मकवानपुरको प्रदेशसभा क्षेत्र नम्बर १ को (२) बाट निर्वाचन लडेका आनन्दराम पराजुलीलाई चुनाव हराएको आरोप लगाइएको छ । उजुरी १८ मंसिरमा पार्टी केन्द्रीय कार्यालयमा ६५ नम्बरमा दर्ता भएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनबाट डीना मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार थिइन् । उजुरीमा डीनासँग प्रतिस्पर्धा गरेका राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहसँग आर्थिक लाभ लिएको बानियाँमाथि गम्भीर आरोप लगाइएको छ । बानियाँले सिंहसँग आर्थिक लाभ लिई आफ्नै पार्टीको विभिन्न तहको संरचनामा नै लोभ, लालच र धम्कीसमेत दिएर राप्रापाका सिंह जिताउन लागेको स्पष्ट भएको उजुरीमा दाबी गरिएको ।

कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँलाई पार्टीको साधारण सदस्यसहित नरहने गरी कारबाही गर्न माग गरिएको छ । उजुरीमा नेता बानियाँ मात्र नभई कांग्रेस मकवानपुरका सभापति बुद्व लामा र प्रतिनिधिसभा क्षेत्र नम्बर १ (२) का सभापति तथा हेटौँडा उपमहानगरका उपमेयर राजेश बानियाँलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माग गरिएको छ । उजुरीमा पार्टीका अन्य पदीय दायित्वमा रहेकाहरूलाई पनि कारबाही गर्न भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*