कर्णालीमा एमाले र सुदूरपश्चिममा मा‌ओवादी निल

अखबार हब
२०७९ मंसिर ९, शुक्रबार १२:५०

काठमाडौँ । सुदूरपश्चिममा माओवादी केन्द्र र कर्णाली प्रदेशमा नेकपा एमाले प्रतिनिधिसभामा निल हुने भएका छन् । दुई ठूला कम्युनिस्ट पार्टीले यहाँ बिउ जोगाउन नसक्ने पक्का भएको छ ।

सुदूरपश्चिमका १६ सिटमध्ये सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा माओवादी केन्द्रले चार स्थानमा भाग पाएको थियो । उसले कैलाली ३ र २ कञ्चनपुर १ र बैतडीमा आफ्ना उम्मेदवार खडा गरेको थियो । तर एक ठाउँबाट पनि जित निकाल्न सकेको छैन ।

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ भने कञ्चनपुर १ र बैतडीमा एमालेले जितेको छ । कैलाली २ मा पनि नागरिक उन्मुक्ति पार्टीको विजय पक्का जस्तै छ ।

कैलाली ३ मा माओवादीले संविधानसभा सदस्य कृष्णकुमार चौधरीलाई उम्मेदवार बनाएको थियो । तर नवजात नागरिक उन्मुक्ति पार्टीका अगाडि चौधरीको सीप चल्न सकेन । कैलाली २ मा पनि नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजयनजिक छन् । यहाँ माओवादीले भगतबहादुर बडुवाललाई उम्मेदवार बनाएको थियो ।

कञ्चनपुर १ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई हराउँदै एमालेका तारा लामा तामाङ विजयी भएका छन् । बैतडीमा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरलाई हराउँदै एमालेका दामोदर गौतम विजयी भए ।

सुदूरपश्चिममा बरु नेकपा एकीकृत समाजवादीले पाएका सिटमा शतप्रतिसत जित निकालेको छ । एसबाट डोटीमा प्रेम आले, बझाङबाट भानुभक्त जोशी र अछाम १ बाट शेरबहादुर कुँवर विजयी भएका छन् ।

सुदूरपश्चिममा माओवादी निल हुँदा कर्णालीमा एमालेको हालत पनि उस्तै छ । एमालेले प्रतिनिधिसमाभा कर्णालीका सबै सिटमा उम्मेदवार खडा गरेको थियो । तर एक सिटमा पनि जित निकाल्न सकेको छैन ।

हुम्ला, कालीकोट र मुगुमा मतगणना जारी छ । तर अहिलेसम्म प्राप्त मत हेर्दा यी ठाउँमा पनि एमालेले जित निकाल्न सक्ने सम्भावना कमजोर देखिएको छ । जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी हुनुबाहेक अरु क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । हुम्ला, कालीकोट र मुगुमा पनि सत्ता गठबन्धनका उम्मेदवार जितनजिक छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*