विरोध खतिवडालाई धक्का, नेकपा(एस) मनहरीका उपाध्यक्षसहित ३५ जना एमाले प्रवेश

अखबार हब
२०७९ मंसिर १, बिहीबार २१:५०

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका कमिटीको उपाध्यक्ष पूर्ण घलानसहित ३५ जना एमाले प्रवेश गरेका छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रचार प्रसारको अन्तिम दिन आज घलानसहित ३५ जना नेकपा एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार लालबहादुर थापा लगाएत एमालेका नेताहरुले स्वागत गरेका थिए ।

एमालेमा फर्किदै घलानले सत्ता गठबन्धनबाट उम्मेदवारी बनेका विरोध खतिवडालाई ठूलो मञ्चमा भाषण गर्दैमा ठूलो नेता भन्न नमिल्ने भन्दै जनताको दुःखमा साथ नदिनेसँग बस्न नसकिने बताएका छन् । ‘विगतमा मैले गलत गरे, गलत ठाउँमा टेके, अब म पुरानै घलमा फर्किएको छु, अब आफ्नै घललाई सिंगार्ने छु ’– उनले भने ।

मंसिर ४ गते हुने निर्वाचनमा एमालेका उम्मेदवार थापा र महेश बर्तौलालाई भोट हाल्न समेत उनले आग्रह गरेका छन् ।

नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका खतिवडा मकवानुर क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको आडमा निर्वाचन लड्दै छन् । उक्त क्षेत्रको निर्णायक मतदाता रहेको मनहरी गाउँपालिकामा आफ्नै पार्टीका पालिका कमिटी उपाध्यक्ष सहितको समुह एमाले प्रवेशले खतिवडालाई थप असहज हुने देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*