हेटौंडा ५ मा एमाले उम्मेदवारको घरदैलो
मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले)ले घरदैलो कार्यक्रम जारी राखेको छ ।
मकवानपुर क्षेत्र नं. १ अन्तरर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ को विभिन्न टोलमा घर घर पुगेर उम्मेदवारले मत मागेका छन् । मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापा र क्षेत्र नम्बर १(ख) का उम्मेदवार एकालाल श्रेष्ठ गत कात्तिक १७ गतेबाट नै चुनावी सभा र घरदैलोमा मत माग्न ब्यस्त रहेका छन् ।
मकवानपुर क्षेत्र नम्बर १ मा बकैया गाउँ पालिका, बागमती गाउँपालिका, मकवानपुर गढी गाउँपालिकाका १,२,३ र ४ नम्बर वडा तथा हेटौंडा उपमहानगरपालिकाको २,४,५,६,७,८,९,१०,१२,१३,१४, १५, १६, १७ र १८ नम्बर वडा पर्छ । त्यस्तै क्षेत्र नम्बर १(ख) मा हेटौंडा उपमहानगरपालिकाको २,४,५,६,७,८,९,१०,१२,१३,१४ र १५ नम्बर वडा पर्छ । समानुपातिक उम्मेदवार भारती पाठक , थापा र श्रेष्ठको संयुक्त उपस्थितिमा घरदैलो कार्यक्रमलाई तीव्रता दिएको निर्बाचन परिचालन कमिटीले जनाएको छ ।
सोमबार हेटौंडा ५ को सिंचाईकुना(दक्षिणकाली) राईटोल(ढुङ्गेधारा) नवीन टोल (मास्टरचोक) वनदेवि टोललगायत स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो ।
जनचाहनाअनुसार काम गर्ने उम्मेदवार कमल थापा र एकालाल श्रेष्ठले प्रतिबद्धता जनाएका छन् ।
घरदैलो कार्यक्रममा स्थानीयहरुले ढल निकासको समस्या, सडक स्तरीकरण नहुदाको समस्या राखेका थिए । यसैगरी देशको प्रमुख जनशक्ति युवाहरुको बिदेश पलायनलाई रोक्न स्थानीयको माग थियो ।
यसैगरी मकवानपुर क्षेत्र नम्बर १(ख)का उम्मेदवार एकालाल श्रेष्ठले हटलाईन नम्बर संचालनमा ल्याएका छन् । उनले चुनावी अभियानको बारेमा आवश्यक जानकारी, जिज्ञासा, धारणा एवं सल्लाह, सुझाब र गुनासोको लागि ९८५११४८२८८ नम्बर संचालनमा ल्याएका हुन् ।







