एमाले उम्मेदवारको घरदैलो, जनतामाझ के के गरे बाचा ?
मकवानपुर । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारले निर्वाचनमा जित आफ्नो पक्षमा पार्न घरदैलो अभियानलाई तीव्रता दिएका छन् । त्यसै अभियान अन्तर्गत नेकपा एमालेका मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापा, मकवानपुर क्षेत्र नम्बर १(ख) का उम्मेदवार एकालाल श्रेष्ठ र बागमती प्रदेशका समानुपातिक उम्मेदबार भारती पाठक हेटौंडा ८ मा घरदैलो गरेका छन् ।
घरदैलो कार्यक्रममा स्थानीयले हेटौंडा औद्योगिक क्षेत्रलाई अझ राम्रो बनाउनुपर्ने बताएका छन् । बन्द भएका कलकारखानाहरुलाई संचालन गरि स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न उम्मेदवारहरुलाई स्थानीयले आग्रह गरेका थिए । रोजगारको अवसर नभएर धेरै युवाहरु वैदेशिक रोजगार पलायन भएकोले उत्पादनसङ्ग जोड्न निति निर्माणका लागि उम्मेदवारलाई सुझाव दिएका थिए । बस्तीहरु बाक्लो हुँदै गएकोले यसलाई व्यवस्थित बस्तीका रुपमा लैजान भुमिका खेल्न पनि स्थानीयले सुझाव दिएका छन् ।
स्थानीयको सुझाव अनुसार जिम्मेवारी बहन गर्ने उमेदवार कमल थापा र एकालाल श्रेष्ठले प्रतिबद्धता जनाएका छन् । एमाले नेतृत्वको सरकारको पालामा धेरै बिकासका कामहरू सुरु भएकोले जिताएर पठाउन उनीहरुले मतादातालाई आग्रह गरे ।
मकवानपुरमा भएका उद्योग कलकारखानालाई उचित ब्यबस्थापन गर्ने, नयाँ औद्योगिक क्षेत्रको बिस्तारलाई अझ सुदृढ बनाउने धारणा राखेका छन् । यसैगरी केही घरमा खानेपानीको पनि समस्या भएकोले त्यसको लागि उचित व्यबस्थापन हुने उनीहरुको भनाइ छ ।







