माओवादी केन्द्रका बागी उम्मेदवार प्रजाको समर्थन बानियाँलाई
मकवानपुर । मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेशसभा(ख) मा नेकपा माओवादी केन्द्रले टिकट नदिए पछि बागी उम्मेदवारी दिएका खुशीलाल प्रजाले आफ्नो उम्मेदवारी निष्कृय रहेको घोषणा गरेका छन् ।
निर्वाचन आयोगबाट आफ्नो उम्मेदवारी फिर्ता लिन प्राविधिक कारणले नमिलेपनी राजनीतिक रुपमा आफू उम्मेदवार नरहेको प्रजाले स्पष्ट पारेका छन् ।
सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रजाले आफ्नो समर्थन लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार तथा कांग्रेस बागमती प्रदेशको सभापति समेत रहेका इन्द्रबहादुर बानियाँलाई रहेको बताएका हुन् ।
प्रजाले भने ‘मैले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि म आवद्ध पार्टीका नेताज्यूहरु, लोकतान्त्रिक बाम गठबन्धनका नेताज्यूहरु सबैसित छलफल र अन्तरक्रिया गर्दा अहिले मेरो उम्मेदवारीले हाम्रो महान् तथा गौरवशाली पार्टी नेकपा माओवादी केन्द्रको नेतृत्वमा प्राप्त गणतन्त्रजस्ता महत्वपूर्ण राजनीतिक उपलब्धीहरुमा गम्भीर क्षति पुग्ने, संविधानको हत्या गर्नेहरुलाई राजनीतिक लाभ हुने र समग्र लोकतान्त्रिक विधि र पद्धती माथि नै घात हुने देखेकोले समृद्ध र लोकतान्त्रिक नेपालको निर्माणको लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराउन आवश्यक देखेकोले गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई मेरो समर्थन रहेको जानकारी गराउँदछु ।’
कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति बानियाँ, नेकपा माओवादी केन्द्रका नेताद्वय कुमारी मोक्तान, सर्केश घलान, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, प्रवक्ता अर्जुनप्रसाद चौलागाईं, कांग्रेस मनहरी सभापति प्रकाश बर्तौला, कांग्रेस राक्सिराङ उपसभापति मोहन नगरकोटीलगायतको उपस्थिति रहेको थियो ।







