विजया दशमीको अवसरमा नवोदयको चण्डी पाठ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले चण्डी पाठ गरेको छ । बिहिवार विद्यालयले १३ जना विद्यार्थीलाई चाड पर्वको महत्व बुझाउने उद्दश्यले चण्डी पाठ गराएको हो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद भट्टराईले कुभिन्डोको बलि दिएका थिए । विद्यालयका नेपाली विषयका सुपरिवेक्षक सिएम रिमालले मुल पण्डितको भूमिका निर्वाह गरेका थिए ।
धार्मिक संस्कृतिको जगेर्ना गर्न र विद्यार्थीलाई चाडपर्वको बारेमा जानकारी गराउने उद्देश्यले विद्यालयले हरेक वर्ष कार्यक्रम गर्दै आइरहेको सुपरिवेक्षक रिमालले बताए ।
विद्यालयका प्रिन्सिपल सकुन्तला जोशीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले गायन, नृत्य प्रस्तुत गर्नुका साथै वातावरणसम्बन्धी नाटकसमेत प्रस्तुत गरेको थियो ।
विद्यालयका प्रिन्सिपल सकुन्तला जोशी र पुरनबहादुर जोशीले शिक्षक कर्मचारीलाई टीका लगाउँदै आशीर्वाद प्रदान गरेका थिए भने कक्षा शिक्षकले विद्यार्थीलाई टीका लगाएर आशीर्वाद र दक्षिणा प्रदान गरेका थिए ।







