सार्वजनिक बसमा हतियारसहित प्रहरी परिचालन गर्दै मकवानपुर प्रहरी
मकवानपुर । चाडपर्वलाई लक्षित गर्दै मकवानपुर प्रहरीले जिल्लाको सुरक्षा व्यवस्थालाई कडा बनाउने भएको छ ।
चाडपर्वको समयमा यात्रुबाहक बसहरुले बढी भाडा असुल्न नदिन मकवानपुरको पश्चिमि सीमा लोथर र दक्षिण सीमा रातोमाटे सम्म यात्रुबाहक बसमा हतियार सहित प्रहरीले गस्ती गर्ने भएको हो ।
सोमवार चाडपर्व लक्षित सुरक्षा योजनाको बारेमा जानकारी दिदै मकवानपुर प्रहरी प्रमुख बामदेव गौतमले रातको समयमा हुन सक्ने लुटपाट र यात्रुबाहक बसले असुल्ने बढि भाडालाई नियन्त्रण गर्न सार्वजनिक बसमा ३/३ जनाको संख्यामा हतियारसहित प्रहरी परिचालन गर्न लागिएको बताए ।
साथै प्रहरीले नागरिक सहायता कक्षको स्थापना गर्ने र सादा पोसाकमा प्रहरी परिचालन समेत गर्ने भएको छ ।
मकवानपुर जिल्लामा रहेका ६२ वटै प्रहरी युनिटहरुबाट पैदल, साईकल, मोटरसाईकल लगायत मोबाईल गस्ती गर्नुका साथै सवारी साधनहरुको क्रस चेकजांचमा मापासे तथा लापसे चेकजांच गर्ने उनले बताए ।
चाडपर्वमा धार्मिक स्थलहरु तथा हाट बजार, बैंक वित्तिय संस्थाहरुमा, सुनचाँदी पसलहरुमा हुन सक्ने चोरी, लुटपाट, डकैत जस्ता कार्यहरु हुन नदिन सादा पोसाकमा प्रहरी परिचालन गरिने जनाएको छ ।
कालो बजारी, नाफाखोरी जस्ता कृतिम अभाव हुन नदिन सरोकार निकायसंग समन्वय गरी बजार अनुगमन र जुवातास खेल्ने लगायतका क्रियाकलापहरुलाई पुर्ण रुपमा रोक लगाउने मकवानपुर प्रहरीले जनाएको छ ।







