मकवानपुरबाट ६ सय खसी–बोका किन्दै खाद्यको वीरगन्ज शाखा
मकवानपुर । नजिकिँदै गरेको दसैँलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले ६ सयवटा खसी(बोका खरिद गर्ने भएको छ । शाखाले मकवानपुरबाट १ हजारवटा बोका खरिद गर्न लागेको भए पनि अहिले ६ सयवटा खसी–बोकाको मात्र कोटा आएको शाखा प्रमुख विकास कटुवालले जानकारी दिए ।
‘यस वर्ष केन्द्रबाट ६ सय वटा खसी–बोका खरिदको कोटा आएको छ,’ उनले भने, ‘पर्सा बारामा पर्याप्त खसी–बोका नपाइने भएकाले मकवानपुरबाट खरिद गर्ने भएका हौं ।’
खसी–बोका खरिदका लागि कार्यालयको कर्मचारी टोली अर्को साता मकवानपुर जान लागेको उनले बताए । १८ किलोमाथिको वजनको बोका प्रतिकिलो ५ सय २० रुपैयाँमा शाखाले खरिद गरिने उनले बताए ।
त्यसैगरी, २० देखि २५ किलोको खसी प्रतिकिलो ५ सय ७५ रुपैयाँ र २५ किलोमाथिको खसी प्रतिकिलो ५ सय ९९ रुपैयाँमा खरिद गर्न लागिएको उनले बताए । मकवानपुरमा खरिद गरिएको खसी–बोका संघीय राजधानी काठमाडौं लगिने उनले बताए ।
त्यस्तै शाखाले असोज १ देखि कात्तिक १५ सम्म सहुलियत छुट मूल्य पसलसमेत सञ्चालन गर्ने भएको छ । कटुवालका अनुसार पसलबाट साविकको भन्दा सस्तो मूल्यमा स्टिम जिरा मसिनो र सोना मन्सुली चामल बिक्री गरिने भएको हो ।







