डेंगु नियन्त्रण गर्न हेटौंडा उपमहानगरको स्प्रे अभियान

अखबार हब
२०७९ भाद्र ३०, बिहीबार १९:०२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगका बिरामि बढ्दै गएपछि थालिएको स्प्रे अभियान निरन्तर चलिरहेको छ ।

डेंगुको संक्रमण दर बढ्दै गएपछि हेटौंडा उपमहानगरपालिकाले सुरु गरेको स्प्रे अभियान नगरका विभिन्न वडाहरुमा चलिरहेको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाको अनुसार अहिले सम्म १, २, ३, ४, ५, १८ र १९ नम्बर वडामा डेंगु नियन्त्रणका लागि नगरपालिकाले नियमितरुपमा स्प्रे गर्दै आएको छ । रोगको दर बढ्दै गएपछि हामीले नगर प्रहरीको सहयोगमा स्प्रे अभियानलाई एक महिनादेखि निरन्तर सञ्चालन गरीरहेको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् ।

मकवानपुरमा डेंगु संक्रमणको संख्या क्रमशः बृद्धि भइरहेको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार बुधबार १ सय २४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा सबभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका १ सय १४ जना छन् । मकवानपुरगढी गाउँपालिकाका १, थाहा नगरपालिकाका ५, भीमफेदी गाउँपालिकाका १ र मनहरी गाउँ पालिकाका ३ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार थपिएका १ सय २४ सँगै मकवानपुरमा डेंगु संक्रमितको संख्या १ हजार ४ सय ६ पुगेको छ । जसमध्ये ५ सय ५७ महिला छन् । पछिल्ला दिनहरुमा तीव्ररुपमा डेंगु संक्रमित बढेका छन् । हेटौंडा उपमहानगरपालिका आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंका अनुसार संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा तथा अन्य जीवाणु नष्ट गर्ने गरी औषधि छर्कन थालिएको हो ।

संक्रमण फैलन नदिन जनस्तरमा मट्टीतेल प्रयोग गरी लार्भा नष्ट गर्न सचेतनासँगै बढी जोखिम रहेका क्षेत्रमा उपमहानगरले स्प्रे गर्न थालेको उनले जानकारी दिए ।संक्रमण फैलिएका वडाको जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यकतानुसार संक्रमण नियन्त्रण अभियान सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत चौलागाईंले बताए । नगरमा लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या पनि बढ्दै गएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

असार अन्तिमबाट सुरु भएको संक्रमणदर बिस्तारै बढ्दै गएको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । जिल्लाका १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरका बजार क्षेत्रमा पर्ने ४ र ५ वडामा बढी बिरामी देखिएको कार्यालयले जनाएको छ । अन्य स्थानीय तहमा केही संख्यामा डेंगु संक्रमित देखिए पनि नगरभित्र देखिनुले समस्या भएको कार्यालयले जनाएको छ । बिरामीको संख्या बढ्दै जानुले सतर्कता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताइएको छ । संक्रमितको हेटौंडा अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*