प्याव्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिताको प्रदेश स्तरिय छनौट भोली
मकवानपुर । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) बागमती प्रदेश समितीको आयोजनामा भोली शनिबार प्रथम प्याव्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिता प्रदेश स्तरिय छनौट प्रतियोगिता हुँदैछ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी बागमती प्रदेश समितिले शनिबार हुने प्रथम प्याव्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिता प्रदेश स्तरिय छनौटमा विभिन्न विद्यालयका ३४५ जनाले सहभागिता जनाउने छन् ।
‘बागमती प्रदेशका जिल्लाहरुमा भएको जिल्लास्तरीय प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय समूहहरुले यस प्रतियोगितामा सहभागिता जनाउने छन् ।’ समितिका अध्यक्ष केशवलाल श्रेष्ठले भने –‘प्रदेश स्तरीय छनौट प्रतियोगितामा प्रथम हुने समूह भदौ २५ गते पोखरामा केन्द्रिय प्याव्सनद्धारा आयोजना हुने प्याव्सन राष्ट्रिय लोक नृत्य प्रतियोगितामा सहभागिता जनाउने छन्।’ प्रदेश स्तरिय छनौट प्रतियोगितामा काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, भक्तपुर, ललितपुर, चितवन, धादिङ र नुवाकोट जिल्लाको जिल्लास्तरीय प्रतियोगितामा विजयी भएकोले सहभागिता जनाउने छन् ।
देशका विभिन्न स्थानमा अध्ययनरत विद्यार्थीहरुमाझ परिचय स्थापित गराई आपसी सद्भाव र भाईचाराको विकास गर्ने, विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । शनिबार हुने प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले गर्ने छन् ।







