हेटौंडा उपमहानगरको निर्णय : काँग्रेस निकट पत्रकारलाई १० लाख, जनप्रतिनिधिलाई कोट र सारी
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनलाई १० लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । साथै महिला जनप्रतिनिधिहरुलाई कोट र सारी खर्च समेत दिने निर्णय भएको छ ।
उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार हेटौंडामा ६–७ साउनमा सम्पन्न प्रेस युनियनको ९ औं महाधिवेशनको खर्चबापत १० लाख रुपैयाँ तिरिदिने निर्णय भएको हो ।
बुधबार बसेको कार्यपालिका बैठकले हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय स्तरको कुनै कार्यक्रम भए उपमहानगरले सहयोग गर्ने सैद्धान्तिक निर्णय अनुसार उपमहानगरले महाधिवेशनमा भएको खर्च भुक्तानी गर्न १० लाख रुपैयाँ दिने निर्णय भएको न्यौपानेले बताए ।
युनियनको महाधिवेशनमार्फत उपमहानगरपालिकालाई देश–विदेशमालाई चिनाउन सहयोग गरेको भन्दै सहायता प्रदान गरिएको उनले बताए ।
‘युनियनबाट १५ लाख रुपैयाँ माग भएको थियो तर हामीले १० लाख रुपैयाँ मात्रै दिने निर्णय गरेका हौं’ प्रवक्ता न्यौपानेले भने ।
कार्यपालिका बैठकले महिला जनप्रतिनिधिहरुले सिलाएको ड्रेसको खर्च दिने भएको छ । यस अघिका महिला जनप्रतिनिधिहरुलाई कोट र सारीको खर्च दिने निर्णय भए पनि विवाद आउने भन्दै भुक्तानी भएको थिएन । तर अब नयाँ र पुराना दुवै महिला जनप्रतिनिधिहरुले कोट र सारीको एकमुष्ट खर्च पाउने भएका छन् ।







