काठमाडौं उपत्यकामा बन्दको प्रभाव सामान्य

अखबार हब
२०७९ भाद्र ७, मंगलवार ११:२४

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत चार कम्युनिष्ट पार्टीको आह्वानमा भएको बन्दमा आज बिहान काठमाडौं उपत्यकामा सामान्य प्रभाव रह्यो।

सरकारले एमसिसी सम्झौता गरेको र विप्लव नेतृत्वको पार्टीसँग गरिएका ३ बुँदे सहमति कार्यान्वयन नभएको विरोध लगायतमा उनीहरूले बन्द आह्वान गरेका थिए।

गृहमन्त्री बालकृष्ण खाणले भने विप्लव नेतृत्वको पार्टीसँग सरकारले गरेका सहमति कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताएका थिए। उनले विप्लवका कार्यकर्तामाथिका अधिकांश मुद्दा टुंगिएको र केही मुद्दा सरकारले चाहेर पनि फिर्ता लिन नसक्ने खालका भएको बताएका थिए।

उपत्यकामा बन्दको सामान्य प्रभाव देखिएको छ। सडकमा सामान्य रूपमा सवारी साधनहरू सञ्चालन भइरहेका छन्।

थापा गाउँमा नेपाल यातायातको बा ४ ख ९०८९ नम्बरको बस तोडफोड भएको छ। उक्त बसको सीसा तोडफोड भएको हो।

कोटेश्वरमा आज बिहान महासागर यायायातको एक यात्रुबहाक बसमा ढुंगा प्रहार भएको थियो। ढुंगाले लागेर बसका सीसा चर्केका छन्। एक समूहले बा ४ च ९३९४ नम्बरको बसमा ढुंगा प्रहार गरेका थिए।

यस्तै कोटेश्वरमा एक माइक्रोमा पनि तोडफोड भएको प्रहरीले जनाएको छ।

डिल्लीबजारको सफ्टवारिका कलेजमा पनि मोटरसाइकलमा आएको एक समूहले तोडफोड गरेको प्रहरीले जनाएको छ।

काठमाडौंका सडकका विभिन्न ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। प्रहरीले बन्द गराउन हिँडेको आरोपमा विभिन्न ठाउँबाट १७ जनालाई पक्राउ गरिएको पनि जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*