१७ दिनपछि तोडियो निहारिकाको अनसन
काठमाडौँ । बलात्कार मुद्दामा आरोपी शिवराज श्रेष्ठको डिएनए जाँच गर्नुपर्ने मागसहित अनसन बसेकी निहारिका राजपुतले १७ औं दिनमा अनसन तोडेकी छन्।
कानुनमन्त्री गोविन्द शर्मा बन्दीको उपस्थिति र वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको रोहवरमा काठमाडौंका सिडिओ गोविन्द रिजालसँग तीन बुँदे सहमतिपछि आइतबार साँझ उनले अनसन तोडेकी हुन्।
उनी समेतले गरेको सहमतिपत्रमा अदालतसमक्ष सरकारी वकिलले डिएनए जाँच गर्न माग गरिदिने, डिएनए जाँचलाई विश्वसनीय बनाउन आवश्यक प्रक्रिया अपनाउन पनि अदालतसँग माग गर्ने र निहारिकाले अनसन तोड्ने उल्लेख छ।
पछिल्लोपटक उनले राष्ट्रपति कार्यालयअघि आत्मदाह गर्ने कोसिस गरेपछि प्रहरीले नियन्त्रणमा लिएर प्रहरी अस्पतालमा राखेको थियो। उनी त्यहीँ अनसन बसेकी थिइन्।
उनी अनसन बसेपछि कानुनमन्त्री शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खातीसहितको सरकारी टोलीले वार्ता गर्दै आएको थियो। वार्ता टोलीसँग उनले आफ्नो लागि मात्रै नभएर हरेक कुमारी आमाबाट जन्मिएका बालबच्चाको भविष्य, हकअधिकारका साथ बाँच्न पाउने सुनिश्चित गर्नुपर्ने माग गरेकी थिइन्।
‘हरेक कुमारी आमाबाट जन्मिएका बालबच्चाको भविष्य, हकअधिकारका साथ बाँच्न पाऊन् भनेर सुनिश्चित गर्नुपर्ने माग गरेकी छु। एकल महिलाका बालबच्चाहरूको हकअधिकारका बारेमा कुरा राखेकी छु,’ उनले केही दिनअघि सेतोपाटीसँग भनेकी थिइन्, ‘भोलि एकल महिला वा कुमारी आमाहरूलाई समस्या नहोस् भनेर मैले अनसन बसेको बताएँ।’
काठमाडौंको महाराजगन्जस्थित प्रहरी अस्पतालमा अनसनरत निहारिकाको बलात्कार मुद्दा उच्च अदालत जनकपुरमा विचाराधीन छ। आफ्ना प्रेमी शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै उनले जाहेरी दिएकी थिइन्। जिल्ला अदालतले श्रेष्ठलाई सफाइ दिएपछि डिएनए जाँच गर्नुपर्ने, श्रेष्ठलाई सफाइ दिने न्यायाधीशलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनी अनसन, धर्ना बस्दै आएकी छिन्।
प्रहरीले घटनामा अनुसन्धान गर्न भन्दै आरोपित शिवराज श्रेष्ठलाई गत बुधबार धनुषाबाट पक्राउ गरेको थियो।
त्यस्तै उनको फैसला गर्ने धनुषाका जिल्ला न्यायाधीश परशुराम भट्टराई पनि सर्वोच्च अदालत तानिएका छन्। उनीमाथि न्यायपरिषदले छानबिन गरिरहेको छ।







