हेटौंडामा दैनिक १ करोड ८२ लाख लिटर खानेपानी वितरण
मकवानपुर । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गत आर्थिक वर्ष ०७८/७९ को प्रगति विवरण र आर्थिक वर्ष ०७९/८० को निति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । बुधबार बोर्डले पत्रकार सम्मेलन गरेर सो बारे जानकारी गराएको हो ।
बोर्डले दैनिक १ करोड ८२ लाख लिटर खानेपानी उत्पादन गर्दै आएको छ । नगरको २२ हजार २ सय १४ धारामा दैनिक ७ देखि ८ घण्टा पानि आइरहको बोर्डले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिकासँग भएको सम्झौता बामोजिम भदौ महिनाबाट लागुहुने गरि बोर्ड अन्तरगतका उपभोक्तालाई मासिक १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले बताए ।
त्यस्तै बोर्डले पानीको गुणस्तर बृद्धिको लागि सेवा क्षेत्र भित्र रहेका ५ वटा पानी उत्पादन वितरण केन्द्रहरुमा पानी शुद्धिकरणको लागि डोजिङ्ग प्लान्ट र सेन्सर डोजिङ्ग प्लान्ट निमार्ण गरिने बताए । निमार्ण सम्पन्न भई भुमिगत ढल जडान गरिएका घरहरुबाट नगरपालिकाको सहकार्यमा ढल महशुल संकलन गर्ने योजना रहेको उनले बताए ।
हेटौंडा उपमहानगरका मेयर मिना कुमारी लामाले नगरका उपभोक्तालाई मासिक न्युनतम खानेपानी शुल्क निःशुल्क वितरण कार्यको सुरुवात भइसकेको बताइन् । साथै उनले नगरका सम्पूर्ण खानेपानी उपभोक्तालाई यो सेवा उपलब्ध भएको बताउँदै समुह मार्फत खानेपानी उपभोग गरेका उपभोक्ता समुहहरुलाई खानेपानी बोर्डमा समाहित भइ सेवा उपभोग गर्न अनुरोध गरेकी छिन् ।
पत्रकार सम्मेलनमा बोर्डका सदस्य इन्द्र नेपाल, हेटौंडा उपमहानगरपालिकाको उपमेयर राजेश बानिया, वडा नम्बर १ का वडाअध्यक्ष सविन न्यौपाने, वडा नम्बर २ का वडाअध्यक्ष विष्णु गोपाल मर्हजन, मकावनपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुलगायतको उपस्थिति रहेको थियो ।







