सरुवा भएका हाकिमले थमाैती ल्याएपछि निजगढमा ‘लफडा’

अखबार हब
२०७९ श्रावण २४, मंगलवार २०:५५

बारा । सरुवा भएर अन्यन्त्रै स्थानीय तहमा पुगिसकेका प्रमुख प्रशासकीय अधिकृतले बाराको निजगढ नगरपालिकामा ‘लफडा’ सिर्जना गराएका छन् । निजगढ नगरपालिकाको निवर्तमान प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीका कारण उत्पन्न विवाद तालाबन्दी गर्ने अवस्थासम्म पुगेको छ ।

कार्कीले गठबन्धनका नेपाली कांग्रेसलगायतका दललाई हात लिएर नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङको कार्यकक्षमा तालाबन्दी गरेका छन् । सोमबार दिउँसो निजगढ नगरपालिकामा गठबन्धन दलबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले तालाबन्दी गरेका हुन् । उनीहरूले १७ साउनमा मेयर पुरीलाई कार्कीलाई हाजिर गराउन भन्दै ज्ञापन पत्र नै बुझाएका थिए ।

हाल निजगढमा मकवानपुरको थाहा नगरपालिकाबाट सुरुवा भएर हरिलाल पुरी प्रमुख प्रशासकीय अधिकृतका रूपमा गएका छन् । कार्कीको सुरुवा भएपछि निजगढ पुगेका पुरीले १३ साउनबाट हाजिर गरेका थिए । तर, गठबन्धनबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले कार्कीलाई नै हाजिर गराउनुपर्ने माग राख्दै तालाबन्दी गरेको नगर प्रमुख सुरथ पुरीले बताए । कार्कीले मन्त्रालयको नियमित सुरुवालाई उल्टाएर फेरि प्रमुख प्रशासकीय अधिकृतकै रूपमा थमौती पत्र लिएर आएपछि निजगढमा विवाद सुरु भएको थियो ।

विवादमा मुछिरहने कार्कीलाई सुरुवा भएर गइसक्दा पनि गठबन्धनका दललाई हाकिम बनाउनुपर्ने ‘मोह’ले यतिबेला नगरवासी नै आश्चर्यमा परेको स्थानीय बिपिन अधिकारीले बताए । ‘नियमले एउटाको सुरुवा भएपछि अर्को हाकिम आइसक्नु भएको छ । पुरी सर आएपछि कार्की सर फेरि आएर लफडा गरिरहनु भएको हामीले थाहा पाएका छौँ । त्यो गलत हो भन्ने जान्दाजान्दै गठबन्धनका वडाध्यक्ष र सदस्यहरूकाे कार्कीलाई बनाउनु पर्नेमा स्वार्थ जोडिएको आशंका छ,’ अधिकारीले भने ।

निजगढको मेयर र उपमेयर एमालेबाट निर्वाचित भएका थिए । अघिल्लो कार्यकालमा भने मेयर कांग्रेसबाट निर्वाचित भएका थिए । दुई वर्ष निजगढमा बसेका प्रमुख प्रशासकीय अधिकृत कार्कीले पुनः निजगढ नै रोज्नु र उनलाई गठबन्धनले साथ दिनुले स्वार्थ जोडिएको नगरवासीले आशंका गर्न थालेका छन् । ११ साउनमा मन्त्रालयको निर्णयअनुसार कार्की सरुवा भएर पचरौता नगरपालिका पुगेका थिए । कार्की भने मन्त्रालयको सरुवा निर्णय उल्टाउँदै थमौती पत्र लिएर आएका थिए ।

नगर प्रमुख पुरीले भने कार्कीलाई हाजिर गराउन मानेका छैनन् । नयाँ प्रमुख प्रशासकीय अधिकृत पुरीले हाजिर गरिसकेको अवस्थामा सरुवा भइसकेका कार्की फेरि आउन खोज्नु स्वभाविक नभएको प्रमुख पुरीले बताए । शान्त नगरपालिकालाई विवादमा धकेल्न प्रयास गर्नु ठीक नभएको उनको भनाइ छ । उनले मन्त्रालयको अपरिपक्क निर्णयलाई तत्काल सच्याएर विवाद हटाउनु पर्ने बताए ।

कार्कीले यसअघि पनि तीन पटकसम्म सरुवाको निर्णय रोकेर निजगढमा बस्दै आएको जनाइएको छ । कार्कीका कारण यसअघि पनि विवाद हुने गरेको थियो । निजगढ नगरपालिका–१३ का वडाध्यक्ष सूर्य घलानले कार्कीलाई हाकिम बनाउन जोडले लागेको स्थानीयहरूले बताएका छन् । घलानकै नेतृत्वमा कार्की फर्काउने अभियान चलाएको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*