प्रमुख प्रशासकीय अधिकृत कार्कीको निजगढ मोहले नगरपालिकामा विवाद

अखबार हब
२०७९ श्रावण १७, मंगलवार ११:३८

बारा । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गर्ने पटकपटक सरुवा र थमौतीले बाराका केही पालिकाहरूमा विवाद देखिन थालेको छ ।

कुनै प्रमुख प्रशासकीय अधिकृत एउटै पालिकामा सधैँ बस्न खोज्ने र कुनैमा जानै नमान्ने प्रवृत्तिले पालिकाहरूमा पालिका प्रमुख, अन्य जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच मनमुटाव बढेको पाइएको छ । यसरी मनमुटावले पालिकाको काम कारबाही प्रभावित हुन थालेको छ ।

यसै क्रममा झन्डै दुई वर्षदेखि निजगढ नगरपालिकामा बस्दै आएका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको जिल्लाकै पचरौता नगरपालिकामा गत साउन ११ मा सरुवा भएपछि त्यहाँ जान नमानेर उनले फेरि निजगढमै थमौती गराएका छन् । थमौतीविरुद्ध त्यहाँका नगर प्रमुखले मन्त्रालयलाई पत्राचार गरी कार्कीलाई हाजिर नगराउने भनिसकेका छन् ।

मन्त्रालयले कार्कीलाई सरुवा भएको पचरौता नगरपालिका नपठाएर पुनः निजगढमै थमौती गरेपछि त्यहाँ विवाद बढेको हो । प्रमुख प्रशासकीय अधिकृतको एउटै पालिका मोहले कतैका जनप्रतिनिधि र कर्मचारी आजित भइसकेका छन् भने कतै पुर्ति नभएर जनप्रतितिनिधिहरू प्रशासकीय अधिकृतको पर्खाइमा रहेको देखिन्छ ।

कार्कीको निजगढबाट सिन्धुली र पचरौतालगायतका अन्य ठाउँ गरी चार पटक सरुवा भए पनि थमौती गराएर निजगढमै बस्दै आएका हुन् । उनको पटकपटकको थमौतीले जनप्रतिनिधिहरू आजित भइसेको निजगढका नगरप्रमुख सुरथ पुरीले बताए ।

कार्की सरुवा भएका पचरौता नगरपालिका, जहाँ प्रशासकीय अधिकृतको अभावमा नीति तथा कार्यक्रम र बजेट नआएकोले स्वास्थ्य सेवा दुई सातादेखि बन्द छ । त्यहाँ उनी जान मानेका छैनन् । कार्कीको पचरौता नगरपालिकामा सरुवा गरी मन्त्रालयले मकवानपुरको पालुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीलाई निजगढमा सरुवा गरेको थियो । पुरी निजगढमा हाजिर भइसकेका छन् ।

तर कार्कीको पहुँचले उनलाई मन्त्रालयले फेरि निजगढमै थमौती गरेकोले त्यहाँ विवाद भएर कार्कीलाई हाजिर नगराउने अडानमा नगर प्रमुख पुरी रहेका छन् । पुरीले कार्कीको पचरौता नगरपालिकामा सरुवा भइसकेको र यहाँ मकवानपुरबाट सरुवा भइ आएका अर्का प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी हाजिर भइसकेकाले कार्कीलाई हाजिर नगराउने उनले बताएका छन् ।कार्कीले थमौती गराएर आएपछि प्रशासकीय अधिकृतको कोठामा नगर प्रमुखले ताल्चा लगाइ दिएका छन् ।

उता पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंहले आफ्नो पालिकामा प्रशासकीय अधिकृतको अभावमा बजेट ल्याउन नसकिएको र कर्मचारीलाई तलब खुवाउनेदेखि नगरसभा गर्न नसकिएकोले प्रमुख प्रशासकीय अधिकृतलाई नगरपालिका पठाउनुपर्ने बताएका छन् ।

रौतहटको गौर नगरपालिकाबाट २०७७ साल फागुन ७ गते सरुवा भएर निजगढ आएका प्रशासकीय अधिकृत कार्कीको यो अवधिमा चार पटक निजगढबाट सरुवा भइ पटकपटक निजगढमै थमौती हुँदै आएको हो । यसअघि २ पटक जिल्ला समन्वय समिति सिन्धुलीमा उनको सरुवा भएको थियो ।

यसबीचमा उनको एक पटक भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सरुवा भएको थियो । पछिल्लो पटक पचरौता नगरपालिकमा सरुवा भएको एक सातामै उनको आइतबार फेरि निजगढमै थमौती भएको हो । पटकपटक सरुवा र थमौती भइरहने विषयले जनप्रतिनिधिहरू आजित भइसकेको निजगढ नगरपालिकाका नगर प्रमुख पुरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*