बलात्कार प्रयास प्रकरणः पीडित बालिकाले दिइन् वडाध्यक्ष घलानविरुद्ध जाहेरी

अखबार हब
२०७९ असार २४, शुक्रबार १५:२६

मकवानपुर । मकवानपुरको विकट कैलाश गाउँपालिकाबाट राष्ट्रपति रनिङ शिल्ड खेल्न हेटौँडा आएकी एक छात्राले आफूमाथि बलात्कार प्रयास भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

जाहेरीमा कैलाश–९ का वडाध्यक्ष भुवन सिं घलानमाथि आरोप लगाइएको छ । पीडित बालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा शुक्रबार जाहेरी दिए पनि हालसम्म प्रहरीले दर्ता भने गरेको छैन ।

हेटौँडामा १८–१९ असारमा भएको जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुन कैलाश गाउँपालिका–९, नामटारको कालिका माविबाट प्रतिनिधित्व गर्दै आएकी करिब १७ वर्षीया विद्यार्थीमाथि वडाध्यक्षले बलात्कार प्रयास गरेको बालिकाले जाहेरीमा उल्लेख गरेकी छन् ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जाहेरी आएको बताउँदै दर्ता भने भइनसकेको बताए । ‘जाहेरी भर्खरै आएको छ । हामीले सबै थोक हेरेपछि मात्रै जाहेरी दर्ता हुन्छ,’ कार्कीले भने । प्रहरीमाथि जाहेरी दर्ता नगर्न राजनीतिक दबाब आएको पीडित पक्षले आरोप लगाएका छन् । वडाध्यक्ष घलान कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

पीडित बालिकाका अनुसार आरोपी घलान राति पीडित विद्यार्थी बसेको कोठामा प्रवेश गरेका थिए । उनले आफ्नो संवेदनशील अंगमा हात लगाएको बताएकी छन् । ‘मैले यस्तो नगर्नु भन्दा पनि मेरो गोप्य अंगमा हात लगाउनु भयो । म डराएर केही बोल्न सकिनँ उहाँपछि भाग्नु भयो,’ पीडित बालिकाले बताइन् ।

घटना १९ असार रातिको हो । हेटौंडा–१ स्थित आसन गेष्ट हाउसमा कालिका माविका विद्यार्थी खेलाडीसहित शिक्षकहरू बसेका थिए । होटलको एउटा कोठामा पीडित बालिकासहित दुई जना विद्यार्थी बसेका थिए । अन्य दुई विद्यार्थी सुतिसकेपछि वडा अध्यक्ष आफ्नो कोठामा आएर गलत कार्य गरेको बालिकाले बताएकी छन् । आरोपित घलानले भने आफूले गलत कार्य नगरेको भन्दै फसाउन खोजिएको दाबी गरे ।

बालिकाहरू बसेको कोठामा करिब साढे ९ बजेदेखि १० बजेभित्र आफू प्रवेश गरे पनि गलत कार्य नगरेको घलानले बताए । उनले आफू विद्यार्थीहरूको निगरानीकै लागि सक्रिय भइरहेको अवस्थामा राम्रोसँग सुत्नका लागि आग्रह गर्न र केही समस्या परे सोध्न उक्त कोठामा प्रवेश गरेको दाबी गरे ।

विद्यालयका प्रधानाध्यापक रामप्रसाद कालाखेतीले घटना थाहा पाएपछि पीडित बालिकाहरूलाई विद्यालयमै बोलाएर सोधपुछ गरेका थिए । सोधपुछका क्रममा पीडित बालिकाले आफूमाथि वडाध्यक्ष घलानले गलत कार्य गरेको बताएको प्रधानाध्यापक कालाखेतीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*