एमालेद्वारा बागमती प्रदेशसभा बैठक अवरुद्ध

अखबार हब
२०७९ असार १२, आईतवार १७:२८

मकवानपुर । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बागमती प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटबारे छलफलका लागि आइतबार बोलाइएको बैठक एमालेले अवरुद्ध गरेको हो ।

एमालेको अवरुद्धका कारण सभामुख सानुकुमार श्रेष्ठले सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । बागमती सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा व्यवसायीलाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको, बजेटले सबै जिल्लालाई नसमेटेको, चुनाव केन्द्रित बजेट ल्याएको र एउटै योजना बजेट पुस्तिकामा दोहोरिएको एमालेको आरोप छ ।

आइतबार दिउँसो १ बजेका लागि तोकिएको प्रदेशसभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर प्रदेशसभा बैठक स्थगितको माग राखेका थिए । सभामुख श्रेष्ठले एमाले मुख्य सचेतक दीपक निरौलालाई बोल्ने समय उपलब्ध गराएका थिए । मुख्य सचेतक निरौलाले बजेटमा आफ्नो पार्टीको असन्तुष्टिको विषय संसदमा जानकारी दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*