नेकपा एसका मन्त्री फेर्न प्रधानमन्त्री देउवाको नयाँ सर्त – बानियाँलाई बागमतीको मुख्यमन्त्री छोड्नुपर्ने

अखबार हब
२०७९ असार १२, आईतवार ११:५९

काठमाडौँ । एकीकृत समाजवादीले मन्त्री हेरफेरको निर्णय गरेको शनिबार २० दिन पुग्यो । २२ असारमा बसेको सचिवालय बैठकले मन्त्री फेर्ने निर्णय गरेको थियो । र, सोही दिन साँझ मन्त्रीका लागि शपथ गर्ने नेताहरूको सूची अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए ।

सोही साँझ रामकुमारी झाँक्री र विरोध खतिवडा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगे, मन्त्री पद जोगाउनका लागि । भोलिपल्ट बिहानै फिर्ता बोलाउने निर्णय भएका ४ जना मन्त्रीहरू खतिवडा, झाँक्री, प्रेम आले र कृष्णकुमार श्रेष्ठको टोली प्रधानमन्त्री देउवालाई भेट्न पुगे ।

गठबन्धनका नेताहरूसम्म पुगेर पद जोगाउने प्रयास गरेका उनीहरूले २० दिन पद थप्न त सकेका छन् । तर,पार्टीभित्र चाँहि बढ्ता नै बदनाम भएका छन् । यसबीचमा उनीहरूका निर्णय र गतिविधि पनि विवादित बनिरहेका छन् । प्रेम आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लील गाली गरेको अडियो सार्वजनिक भएको छ । त्यसबाहेक मन्त्री आलेले एकै दिन ३१ जेठको मन्त्रिपरिषद् बैठकबाट तारागाँउ विकास समितिको अध्यक्ष र कार्यकारी निर्देशक नियुक्त गरे । नेपाल पर्यटन बोर्डका दुईजना बोर्ड सदस्यलाई हटाए ।

निगममा निमित्त महाप्रबन्धक दीप ज्वारचनलाई नियुक्त गरेर कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरे । २२ दिनको बीचमा प्रधानमन्त्री देउवाको गतिलो साथ पाएर पर्यटन मन्त्री आलेले अध्यक्ष माधव नेपाललाई जानकारी नै नदिई धेरै नियुक्ति गरेका छन् ।

गठबन्धनको मुख्य घटक एकीकृत समाजावदीको पार्टीको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री देउवा किन हिच्किचाइरहेका छन् रु अर्थात माधव नेपालभन्दा प्रेम आले किन प्रिय बनिरहेका छन् रु अहिले समाजवादीका नेताहरूले प्रश्न उठाइरहेका बेला देउवाको रणनीति चाँहि बागमती प्रदेश सरकारसँग जोडिएको पाइएको छ ।

उच्च राजनीतिक स्रोतका अनुसार एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले नेतृत्व गरेको बागमती प्रदेश सरकार पनि हेरफेर गराउने प्रयासमा देउवा लागेका छन् ।

समाजवादीका मन्त्री फेर्न निर्णयसँग प्रदेशको मुख्यमन्त्री फेर्ने एजेण्डालाई प्रधानमन्त्री देउवाले ‘बार्गेनिङ टुल्स’ बनाएका हुन् ।

११ कात्तिक ०७८ मा बागमती प्रदेशको मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले ६ महिनापछि कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई छोड्ने लिखित सहमति गरेका थिए । उक्त सहमतिअुनसार मुख्यमन्त्री पाण्डेले २ महिना अघि नै पद बानियाँलाई बुझाउनुपर्ने हुन्थ्यो ।

तर, मुख्यमन्त्री हेरफेरको विषय केन्द्रीय गठबन्धनको नीतिअनुसार हुने भन्दै पाण्डेले पद छोडेका छैनन् । प्रधानमन्त्री देउवाका विश्वासिला नेता बानियाँका लागि त्यही सहमति कार्यान्वयन गराउन दबाब दिँदै केन्द्रमा एकीकृत समाजवादीका मन्त्रीलाई नियुक्त गर्न आनाकानी गरेको उच्च राजनीतिक स्रोतको दाबी छ ।

राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री छोडाउनका लागि बानियाँले हेटौडादेखि सिंहदबारसम्म दबाब भने बढाइरहेका छन् । पुराना लिखित सहमति पनि सार्वजनिक गराइरहेका छन् । बानियाँको त्यही प्रयासलाई बालुवाटारबाट देउवाले साथ दिएका हुन् । स्रोतका अनुसार यो विषयमा अध्यक्ष नेपालसँग पनि छलफल गरिसकेका छन् । यद्यपी, अहिले भने देउवा गल्दै गएका छन् । अझ, एकीकृत समाजावदीको केन्द्रीय कमिटीले २४ घण्टे अल्टिमेटम दिएपछि देउवा दबाबमा परेका छन् ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने यस्तो शर्त मान्य नहुने बताउँछन् ।

खनालले भने, ‘यी दुई फरक सन्दर्भ र तुलनायोग्य नभएकोले कसैले शर्त बनाउन हुँदैन, कांग्रेसको औपचारिक शर्त त्यस्तो भनेर नआएकोले हामीले संघीय सरकारमा मन्त्री २४ घण्टाभित्र फेर्न अल्टिमेटम दिएका छौं ।’ शिलापत्रबाट साभार गरिएको । 

यसमा तपाइको मत

Your email address will not be published.


*