‘नगर प्रमुखको हठ र घमण्डले नगर सभा स्थगित भयो’
मकवानपुर । नेकपा एमाले मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको नगर सभा नगर प्रमुखको हठ र घमण्डले स्थगित भएको आरोप लगाएको छ ।
शुक्रबार बोलाइएको हेटौंडाको नगर सभा स्थगितपश्चात नेकपा एमाले हेटौंडा उपमहानगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तौ बताएको हो ।
नगरसभालाई सरल र सहज ढंगबाट सञ्चालन गर्नको लागि मकवानपुरका क्रियाशिल दलका नेताबिच भएको सहमतिलाई नगर प्रमुखले अटेर गरि नगरसभा स्थगित गरेको संसदीय दलका नेता नवीन सिग्देलले आरोप लगाएका छन् ।
‘नीति, कार्यक्रम र बजेट निर्माण गर्दा विषयगत समिति नबनाई, कुनै पनि कार्यपालिका सदस्यहरुलाई सहभागी नगराई विधिसम्मत छलफल भएको छैन ।’, उनले कार्यपालिका बैठकले पारित गरी नगरसभामा पेश गर्नुपर्नेमा नगर प्रमुख र उपप्रमुखले मनोमानी, एकलौटी र असम्बन्धित व्यक्तिहरुको संलग्नतामा बजेट तयार गरिएको र यो सच्चाउनुपर्ने बताए ।’
उनले कार्यपालिका र नगरसभा सदस्यहरुको विशिष्ट संरचना र दलीय प्रतिनिधित्वको मर्यादालाई ध्यान नदिई अलोकतान्त्रिक चरित्र र बलमिच्याइका साथ समझदारी र सहकार्यको संस्कृतिलाई तिलाञ्जली दिएको आरोप लगाए । ‘आवश्यक छलफल र गृहकार्य विनै नगरबासीको बृहत्तर हितविपरित निर्वाचन ताका कै गठबन्धनको धङ्धगीबाट मेयर मुक्त हुनुपर्छ । नगर प्रमुखले सबैको र साझा चरित्र देखाउन पर्छ ।’, उनले भने ।
स्थानीय सरकार सञ्चालन ऐनको मर्म र भावना विपरित र बाझिएका निमावली र कार्यविधि संशोधनको लागि नगरसभाका बहुमत सदस्यहरू ५४ जनाको हस्ताक्षरसहित पेश गरेको संशोधन प्रस्तावको दर्ता गर्नुपर्ने र नगर प्रमुख असंबैधानिक, अलोकतान्त्रिक र असहिष्णु प्रवृत्तिबाट मुक्त हुनुपर्ने माग एमालेको छ ।
नेपाली काँग्रेसका सभापति बुद्व लामा तथा नेकपा एमालेका अध्यक्ष एकालाल श्रेष्ठ तथा अन्य पार्टीका प्रमुखहरूसहित संशोधन प्रस्ताव नगर प्रमुखद्धारा नगरसभामा सम्बोधन गर्ने प्रतिबद्वता व्यक्त भएको समेत सिग्देलले दावी गरे । ‘सर्वदलीय सहमति समेत नगर प्रमुखले अटेर गरी आफूलाई जनताको सेवक नभइ निरंकुश शासकको रुपमा प्रस्तुतहुँदा नगरसभा आकस्मात स्थगित गर्नु अनुचित छ ।’, उनले पत्रकार सम्मेलनमा भने ।







